नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले निर्वाचनको परिणाम र अबको राजनीतिक कदमबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।
बैठकमा संसदीय दलको निर्वाचन र आगामी सरकार गठनलगायत विषयमा समेत छलफल हुनेछ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक बस्ने जानकारी दिए ।
कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले निर्वाचनबाट कांग्रेस ठूलो दल बनेकाले अब स्वभाविक रुपमा प्रधानमन्त्री दाबी गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित सांसदहरूका लागि आज वालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्री बन्ने इच्छा देखाइरहेको विषयलाई पनि स्वभाविक रुपमा लिनु पर्ने बताए । उनले भने, ‘तर, सबै रुपमा कांग्रेसको नेतृत्व उपयुक्त हुन्छ ।’
उनले अब केही दिनमा कांग्रेस संसदीय दलको निर्वाचन पनि हुने र त्यसपछि प्रधानमन्त्रीको विषय थप टुंगो लाग्ने बताए । यसपटक पनि अरु दलको सहयोग लिएर कांग्रेसले नै सरकार बनाउने र एकताको सन्देश दिन यो जरुरी पनि रहेको उनको भनाइ छ ।
कांग्रसले भोलि आइतबार ३ बजे कार्यसम्पादन समिति बैठक समेत बोलाएको छ।