रसीद आलम,बिरगंज ,३ पुस ।
बिना भन्सारको भारतबाट नेपाल भित्रीएका भारतीय एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भारतीय बोलेरो एम्बुलेन्स भन्सार छली चोरी पैठारी गरी नेपालमा भित्र्याई पर्सा जिल्लाको ग्रामिण एरिया तथा महानगरपालिका भित्रमा अनाधिकृत रुपमा प्रयोग गर्दै आईरहेको विशेष सूचनाको आधारमा पुस २ गते जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दिउँसो २:२० मा वीरगञ्ज महानगरपालिका वडा नं.१३ तराई अस्पताल अगाडीबाट बिआर १ एपि ५२९१ नम्बरको भारतीय बोलेरो एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो।
पक्राउ गरिएको एम्बुलेन्स गाडीलाई अनाधिकृत रुपले स्वरूप परिवर्तन गरी स्कारपियो गाडीको पार्टसहरू लगाएको तथा भन्सारको कागजात नरेहेकोले एम्वुलेन्सलाई चालकसहित पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी )कुमार बिक्रम थापाले बताए ।
पक्राउ परेका एम्बुलेन्स चालक भारत विहार जिल्ला पुर्वी चम्पारण पलनवा ग्राम बहुअर्वा बस्ने वर्ष ३० को महमद नेजामुदिनलाई सो एम्बुलेन्ससहित थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डिएसपी थापाले जानकारी गराएका छन् ।
एम्बुलेन्सको रू.४ लाख मूल्याङ्कन गरीएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।