बिरगंज, चैत ९ ।
बिरगंज महानगरपालिकाले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व रमजानका अवसरमा शुक्रबार साँझ संयुक्त इफ्तार समारोहको आयोजना गरेको छ।
आदर्शनगरस्थित पुरानो बसपार्कमा आयोजित उक्त समारोहमा महानगरका ३२ वटै वडाबाट गरी ५ हजारभन्दा बढी मुस्लिम धर्मावलम्बीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा रोजेदारहरूलाई विभिन्न परिकारका साथ जलपान ग्रहण गराइएको थियो।
महानगर प्रमुख रजेशमान सिंह स्वयं समारोहमा उपस्थित भई मुस्लिम समुदायलाई रमजान पर्वको शुभकामना व्यक्त गर्दै आपसी सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न इफ्तार आयोजना गरिएको बताए। हिन्दू धर्मावलम्बी भए पनि धार्मिक विविधताप्रति सम्मान प्रकट गर्दै उनले मुस्लिम समुदायको पर्वमा सहकार्य गर्न महानगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरे।
त्यस्तै, उपप्रमुख इम्तियाज आलमले महानगरपालिकाले तीन वर्षदेखि निरन्तर रमजानमा संयुक्त इफ्तार समारोह आयोजना गर्दै आएको जानकारी दिए। उनले धार्मिक सहिष्णुता र आपसी भाइचारालाई अझ मजबुत बनाउन यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताए।
उक्त समारोहमा प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, विभिन्न वडाका वडाध्यक्षहरू, अन्य धर्मका अगुवा तथा महानगरपालिकाका कर्मचारीहरूको पनि सहभागिता रहेको थियो।
