वीरगञ्ज, २ असार । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–६ रेशमकोठी स्थित २ नम्बर रोडमा रहेको एक गोदाममा छापा मार्दै करिब रु. २२,७१,९५० बराबरको तयारी कपडा बरामद गरेको छ।
उक्त अपरेशन सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको टोली र भन्सार कार्यालयको संयुक्त सहभागितामा सम्पन्न भएको हो। बरामद गरिएको तयारी कपडा भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याईएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सशस्त्र प्रहरीले जनाएअनुसार, रेशमकोठीस्थित रमेश अग्रवालको दुईतले पक्की घरको ग्राउण्ड फ्लोरमा रहेको जी.के. ट्रेडर्स नामक गोदाममा दुईवटा छुट्टाछुट्टै कोठा भाडामा लिई कपडा लुकाइराखिएको थियो। ती कोठाबाट भेष्ट, जिन्स पाइन्ट, टिसर्ट लगायतका तयारी कपडा फेला पारिएको हो। उक्त सबै सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीका सूचना अधिकारी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिए।
सशस्त्र प्रहरी बल पर्साका प्रमुख प्रहरी उपरीक्षक राधेश्याम धिमालले उक्त अपरेशनलाई तस्करी नियन्त्रण अभियानअन्तर्गत एक महत्वपूर्ण सफलताको रूपमा उल्लेख गरेका छन्। उनले सीमा क्षेत्रमा कडाइका साथ जाँच जारी राखिएको र शान्ति सुरक्षा कायम गर्न कुनै सम्झौता नगर्ने स्पष्ट पारे। साथै, मातहतका सम्पूर्ण युनिटहरुलाई तस्करी नियन्त्रण र अवैध क्रियाकलापमाथि निगरानी थप सशक्त बनाउन निर्देशन दिइसकेको बताएका छन्।
सिमावर्ती क्षेत्रमा भइरहेको तस्करीजन्य गतिविधिमा कडाइ र निगरानी बढाउँदै लैजाने प्रतिबद्धताका साथ सशस्त्र प्रहरी बलले यस्तो प्रकारको संयुक्त अपरेशनलाई निरन्तरता दिने जनाएको छ।
यस घटनाले वीरगञ्ज क्षेत्रलाई तस्करीका लागि प्रयोग गर्न खोज्ने गिरोहहरूमाथि कडा सन्देश दिएको छ। यस प्रकारको निष्क्रियता र कानूनी बेवास्ताविरुद्ध सुरक्षा संयन्त्र सजग र सशक्त रहेको पुष्टि भएको छ।
