पर्सा, असोज २० गते ।
अविरल वर्षाको बीचमा पनि सशस्त्र प्रहरी बल, नेपालले सिमानामा आफ्नो कर्तव्य निष्ठापूर्वक निर्वाह गरिरहेको प्रमाणस्वरूप पर्सा जिल्लामा ठूलो मात्रामा तस्करीका सामान नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका डिएसपी कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको टोलीले असोज २० गते अलौ नाकाबाट भारततर्फबाट नेपाल भित्र्याइँदै गरेको गाडीका पार्ट्स र किराना सामान बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार उक्त सामानसँगै तस्करीमा प्रयोग गरिएको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ। बरामद सामान र मोटरसाइकलको कुल मूल्य करिब ४ लाख ३६ हजार ६ सय ७० रुपैयाँ बराबर रहेको र ती सबै सामग्रीलाई कानूनी प्रक्रिया अनुसार भन्सारमा दाखिला गरिएको जनाइएको छ।
सशस्त्र प्रहरी बल, नेपालले हाल देशका विभिन्न भागमा लगातार परिरहेको वर्षा र विपद्का बीचमा उद्धार तथा राहत कार्यमा खटिँदै आएको छ। त्यही समयमा केही तस्करहरूले मौसम र व्यस्त परिस्थितिको फाइदा उठाउँदै तस्करी गर्न खोजे पनि प्रहरीको सतर्कताका कारण उनीहरूको प्रयास विफल भएको हो।
डिएसपी पुजाराको नेतृत्वमा खटिएको टोलीले देखाएको सतर्कता र जिम्मेवारीले सशस्त्र प्रहरी बलको सीमासुरक्षा र अवैध कारोबार नियन्त्रणप्रति निरन्तर प्रतिबद्धता पुनः प्रमाणित गरेको स्थानीयहरूले बताएका छन्।
सशस्त्र प्रहरी बल, नेपालले यस्ता अवैध क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउने र देशभरका सीमाक्षेत्रहरूमा निगरानी अझ कडा पार्ने जनाएको छ।
