बारा, पुस २७ ।
सशस्त्र प्रहरी बल, नेपालले आफ्नो २५औँ स्थापना दिवस–२०८२ को पावन अवसरमा सीमा क्षेत्रमा रहेका विपन्न समुदायलाई लक्षित गर्दै सामाजिक सेवा कार्यक्रम सञ्चालन गरेको छ।
मिति २०८२।०९।२७ गते बिहान ११:०० बजे जिल्ला बारा पचरौता नगरपालिका–१ हरपुरस्थित मुसहर बस्तीको श्री दलित प्राथमिक विद्यालय मा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत १२४ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ। उक्त कार्यक्रम सशस्त्र प्रहरी बल, नेपाल नं.१२ गण हे.क्वा. बाराको आयोजना तथा सीमा सुरक्षा गुल्म हे.क्वा. पिपरपतिको समन्वय मा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि पचरौता नगरपालिकाका मेयर जलन्धर सिंह रहेका थिए भने वडा नं. १ का वडा अध्यक्ष विनय कुमार सिंह, सशस्त्र प्रहरी बल, नेपाल नं.१२ गण हे.क्वा. बाराका गणपति स.प्र.उ. खुमबहादुर के.सी., विद्यालयका प्रधानाध्यापक बजरंगी माझी, स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी, स्थानीयवासी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा करिब २००–२५० जनाको सहभागिता रहेको बताइएको छ।
यसै अवसरमा पचरौता नगरपालिकाको सहयोगमा विद्यार्थी, अभिभावक तथा उपस्थित स्थानीय भद्रभलाद्मीहरूलाई सामूहिक बिहानको खाना समेत खुवाइएको थियो।
सुरक्षा व्यवस्थापनका लागि सीमा सुरक्षा गुल्म हे.क्वा. पिपरपातीबाट स.प्र.ना.उ. नविन अधिकारीको कमाण्डमा ३० जना तथा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्र.नि. कृष्णदेव शाहको नेतृत्वमा १० जना प्रहरी परिचालित गरिएको थियो।

यसअघि, मिति २०८२।०९।२५ गते दिउँसो १२:४५ बजे जिल्ला बारा कलैया उपमहानगरपालिका–१६ स्थित श्री विद्यामन्दिर जोगिन्दर सामुदायिक आधारभूत विद्यालय मा पनि २५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा भलिबल, फुटबललगायतका खेलकुद सामग्री वितरण गरिएको थियो।
सशस्त्र प्रहरी बल, नेपालद्वारा सञ्चालन गरिएका यस्ता कार्यक्रमहरूले सीमा क्षेत्रका विपन्न समुदायमा सुरक्षा निकायप्रति सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सामाजिक सद्भाव र विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको स्थानीयवासीहरूले बताएका छन्।
