वीरगञ्ज, १८ असार । वीरगञ्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रिय पहलपछि विगत करिब ६ महिनादेखि रोकिएको विपद् राहत रकम वितरण प्रक्रिया अघि बढेको छ। महानगरका विभिन्न वडाका आगलागी, बाढी तथा हावाहुरीबाट प्रभावित १५ परिवारले अब राहत पाउने भएका छन्।
कार्यवाहक प्रमुख आलमले विपद् व्यवस्थापन शाखामा लामो समयदेखि थन्किएका निवेदनहरूलाई प्राथमिकतामा राख्दै तत्काल आवश्यक छानबिन गर्न निर्देशन दिएपछि राहत वितरण प्रक्रिया अघि बढेको हो।
निर्देशनअनुसार वडा नं. १४, १७, १९, २६ लगायतका क्षेत्रमा प्राकृतिक विपद्बाट क्षति व्यहोरेका वास्तविक पीडितहरूको स्थलगत अध्ययन गरी राहतका लागि छनोट गरिएको महानगरले जनाएको छ।
पीडितहरूको क्षतिको प्रकृति र अवस्था मूल्याङ्कनपछि प्रतिपरिवार ५ हजारदेखि २५ हजार रुपैयाँसम्म राहत उपलब्ध गराउने निर्णय गरिएको छ। लामो समयदेखि राहतको प्रतीक्षामा रहेका प्रभावित परिवारका लागि यो निर्णयले राहत र आशा दुवै दिलाएको छ।
विपद् व्यवस्थापन शाखा प्रमुख विभा मिश्राका अनुसार कार्यवाहक प्रमुख आलमको निरन्तर समन्वय र सक्रिय अनुगमनका कारण लामो समयदेखि रोकिएको प्रशासनिक प्रक्रिया तीव्र रूपमा सम्पन्न भएको हो। उहाँका अनुसार केही दिनभित्रै राहत रकम सम्बन्धित पीडितहरूको खातामा वा हातमा पुग्नेछ।
कार्यवाहक प्रमुख आलमले विपद्का कारण समस्यामा परेका नागरिकलाई महानगरले भविष्यमा पनि छिटो, प्रभावकारी र जिम्मेवार ढंगले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै संकटका बेला स्थानीय सरकार नागरिकसँगै रहने विश्वास दिलाउनुभएको छ।
