बारा प्रहरीले लागू औषधको संजाल तोड्दै, वरिष्ठ सई कार्कीको कमान्डमा ९७ किलो गाँजासहित दुई जना पक्राउ।

बिदेश राजनीति समाचार

रसीद आलम ,बारा, ४,पुस ।

बारा प्रहरीले ९७ किलो लागू औषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको नेतृत्वमा खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका-२२ स्थित टावर डाँडाको बिरुवा खोलाको झाडीमा लुकाइएको गाँजा बरामद गरेको हो।

प्रहरीले ओसारपसारमा प्रयोग भएको बा.११ च. ७०१२ नम्बरको कालो ग्रे रङको फोर्ड गाडी समेत बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा चितवन राप्ती नगरपालिका-२ गडौलीका ३५ वर्षीय विष्णु लामा र भरतपुर महानगरपालिका-२४ सिद्धार्थ टोलका ४६ वर्षीय टेक बहादुर गुरुङ रहेका छन्।

बरामद सामानमा ९७ किलो गाँजा १८ पोकामा विभाजित गरिएको थियो। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको छ।

यसअघि पनि प्र.ब.ना.नि. कार्कीको टोलीले पुस २ मा १५ किलो गाँजासहित दुई जना भारतीय नागरिक र मंसिर २२ मा ६० किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको थियो।

प्रहरी निरीक्षक तथा बारा प्रहरीका निमित्त सूचना अधिकारी बलराम श्रेष्ठका अनुसार लागू औषध र अन्य आपराधिक क्रियाकलाप विरुद्ध प्रहरीले निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *