प्रहरी महानिरीक्षक दानबहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित

समाचार

काठमाडौं,२७ कार्तिक  । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पदोन्नति पाउनुभएका दानबहादुर कार्की बिहीबार दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ ।

गृह मन्त्रालय सिंहदरबारमा आयोजित विशेष समारोहमा गृहसचिव रामेश्वर दंगालले प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिन्ह लगाइदिनुभयो । सो अवसरमा गृहसचिव दंगालले नेपाल सरकारले विधि र पद्धतिको आधारमा नेपाल प्रहरीको प्रमुखको रूपमा नियुक्त गरेका कार्कीको कार्यकालमा देशभर शान्ति–सुरक्षा कायम गर्न, सुशासन प्रवर्द्धन गर्न र अपराध नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

गृहसचिव दंगालले हालको राजनीतिक र सामाजिक परिस्थितिमा निष्पक्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु, मुलुकमा व्याप्त विकृति–विसंगति अन्त्य गर्दै सुशासन कायम गर्नु सरकारको प्राथमिक दायित्व रहेको बताउनुभयो । उहाँले नेपाल प्रहरीले आफ्नो भूमिकामा उच्च पेशागत क्षमता, पारदर्शिता र उत्तरदायित्वका साथ योगदान दिने अपेक्षा व्यक्त गर्दै गृह मन्त्रालयले सदैव समन्वय र सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले करिब अठ्ठाइस वर्षको सेवायात्राको मूल्याङ्कनका आधारमा आफूलाई महानिरीक्षकमा पदोन्नति गरेको नेपाल सरकार र गृह मन्त्रालयप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । उहाँले प्राप्त जिम्मेवारीलाई पेशागत अनुशासन, पारदर्शिता र जवाफदेहिताका साथ निर्वाह गर्दै नागरिक सेवाभावको प्रत्याभूति दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्कीले मुलुकमा सुशासन कायम गर्न, आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन र वर्तमान सुरक्षागत चुनौतीहरू सामना गर्न नेपाल प्रहरी पूर्ण रूपमा सक्षम र प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले गृह मन्त्रालय, अन्य सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संस्था तथा समुदायसँग सहकार्य गर्दै संगठनको सुदृढीकरण र प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्ने आफ्नो अठोट प्रकट गर्नुभयो ।

सो समारोहमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्च अधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू र सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपछि नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीले बिहीबारै आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभयो । नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्दा अतिरिक्त महानिरीक्षक, नायव महानिरीक्षक, वरिष्ठ अधिकृतहरू र प्रहरी जवानहरूले उहाँलाई हार्दिक स्वागत गरेका थिए ।

त्यस अवसरमा प्रहरी महानिरीक्षक कार्कीले प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई शहीद प्रहरीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको संक्षिप्त जीवनी

प्रहरी महानिरीक्षक कार्की नेपाल प्रहरीका ३३औँ प्रहरी महानिरीक्षक हुनुहुन्छ । गुल्मी जिल्लाको मालिका गाउँपालिका–७ (साविक घमिर–५) का निवासी उहाँको जन्म वि.सं. २०२९ साउन १५ गते पिता कृष्णबहादुर कार्की र माता चन्द्रकला कार्कीको कोखमा भएको हो । उहाँकी श्रीमती नविना कार्की र दुई छोरीहरू हुनुहुन्छ ।

कार्कीले वि.सं. २०५४ चैत १८ गते प्रहरी निरीक्षकको रूपमा नेपाल प्रहरी सेवा प्रारम्भ गर्नुभएको हो । त्यसयता उहाँले प्रहरी नायव उपरीक्षकदेखि अतिरिक्त महानिरीक्षकसम्मका विभिन्न पदमा उत्कृष्ट कार्य सम्पादन गर्नुभएको छ ।

राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गर्नुभएका कार्कीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २२ प्रकारका उच्चस्तरीय तालिमहरू प्राप्त गर्नुभएको छ । उहाँ प्रवल जनसेवा श्रीसंयुक्त राष्ट्रसंघ पदक लगायतका विभूषणबाट सम्मानित हुनुहुन्छ ।

उत्कृष्ट नेतृत्व क्षमता, इमानदारी र समर्पित सेवाका कारण चिनिनुभएका कार्कीले नेपालगञ्ज, रुकुम, तनहुँ, कास्की, काठमाडौं, लुम्बिनी, सुर्खेतलगायतका विभिन्न प्रहरी इकाइमा नेतृत्व गर्दै उल्लेखनीय योगदान दिनुभएको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले “शान्ति, सुरक्षा र सुशासनका लागि उत्तरदायी प्रहरी” भन्ने मूलमन्त्र अनुरूप आफ्नो कार्यकाललाई प्रभावकारी र जनमुखी बनाउने अठोट व्यक्त गर्नुभएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *