पर्सा, ४ जेठ — पर्साको सिरिसिया र भारतको बिहारस्थित पन्टोका सीमाना हुँदै एक नेपाली नाबालिका चेलीबेटीलाई भारततर्फ तस्करी गर्न खोजेको आरोपमा तीन जना युवकलाई पक्राउ गरिएको छ।
भारतको सिमा सुरक्षा बल (एसएसबी) ले ती युवाहरूलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिई सोधपुछ गर्दा मानव तस्करीको आशंका पुष्टि भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
पक्राउ परेका तीनै युवक बाराको कलैया निवासी रहेका छन्। उनीहरू क्रमशः सुशील पटेल, राहुल पटेल र सनतलाल पटेल हुन्। स्थानीय सुरक्षाकर्मीका अनुसार ती तीनै जना एउटै परिवारका सदस्य हुन्।
उनीहरूले १६ वर्षीया एक नाबालिकालाई ललाई फकाई भारततर्फ लैजाँदै गर्दा भारतीय सुरक्षा बलले उनीहरूलाई सीमामा नियन्त्रणमा लिएको हो। उद्दार गरिएकी किशोरी पनि बाराकै निवासी रहेको बताइएको छ।
यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको एसएसबीले जनाएको छ। हाल नेपाल–भारत सीमाक्षेत्रमा मानव तस्करीका घटनाहरू बढ्दो क्रममा रहेकोप्रति स्थानीय बुद्धिजीवी र सचेत नागरिकले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा निगरानी कडाई गर्नुका साथै आम नागरिकलाई पनि सतर्क रहन आग्रह गरेका छन्।
