पर्सा, असार १७।
भारतबाट सस्तो मूल्यमा ल्याइएका पोषण पूरक औषधीमा ५ गुणा बढी मूल्य छापेर कालोबजारी गरी बिक्री वितरण गर्ने कार्यमा संलग्न एक व्यक्ति पर्सा प्रहरीले पक्राउ गरेको छ।
वीरगञ्ज महानगरपालिका–२४ स्थित विश्वनाथ राउतको घरमा भारतबाट आयात गरिएका औषधीहरूमा म्याक्सिमम रिटेल प्राइस (MRP) नभएको, र ती औषधीहरूलाई नेपाल भित्र्याई मेसिनको प्रयोगबाट बढी मूल्य छापेर बेचबिखन भइरहेको भन्ने विशेष सूचनाका आधारमा मिति २०८२ साल असार १५ गते साँझ साढे ४ बजे प्रहरी टोलीले उक्त घरमा छापा मारी ठूलो परिमाणमा औषधी बरामद गरेको हो।
सो घटनामा संलग्न रहेका वीरगञ्ज–२६ निवासी ४२ वर्षीय जितेन्द्र प्रसाद कुर्मीलाई नियन्त्रणमा लिइ कालोबजारी (कालो बजारी तथा केही अन्य सामाजिक अपराध सम्बन्धी ऐन) अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिएका छन्।
बरामद औषधी र सामग्रीहरूमा समावेश:
- ACON2K, CANWEL POWDER, ORTHOHEAL, NITVIT PLUS, SIMROSE, IMMATEKEAL SUSPENSION, ACTIFERON, PREGAFOL, ARTHRAID, VITO-C, LIVUS, EVELTN, IMMUHEAL लगायतका हजारौं पिस औषधीहरू
- MRP छाप्ने प्रिन्ट मेसिन
- विभिन्न कम्पनीको नाममा प्रज्ञापन, बिलपाना, अर्डर बुक, लेखिएको कागजातहरू
- NEPAL NEUTRACEUTICALS COMPANY PVT. LTD. तथा SUBHAM MEDISUPPLIERS नाम लेखिएको ठेली
बरामद सामग्रीको अनुमानित मूल्य करिब २५ लाख रुपैयाँ बराबरको रहेको प्रहरीको प्रारम्भिक मूल्याङ्कनबाट खुलेको छ।
यस प्रकारको कालोबजारी नियन्त्रणका लागि पर्सा प्रहरीले सीमा क्षेत्रमा निगरानी कडा पारेको एसपी गौतम मिश्रले जनाएका छन् ।
