मोरङ, कार्तिक २० ।
मोरङ जिल्लाको जहदा गाउँपालिका–३ बाट एम्बुलेन्समार्फत लागू औषध गाँजा ओसारपोसारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कार्तिक १९ गते राति विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरी टोलीले सो स्थानमा स.१ च ६५६ नम्बरको एम्बुलेन्स जाँच गर्दा त्यसको भित्र भागमा कालो झोलामा लुकाइछिपाई राखिएको अवस्थामा ३३ किलो ६१० ग्राम गाँजा फेला पारेको हो ।
प्रहरीका अनुसार उक्त गाँजा ओसारपोसारमा संलग्न एम्बुलेन्स चालक विराटनगर–५ का ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र सोही एम्बुलेन्ससँगै आवतजावत गरिरहेको को.३१ प ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका–३ का ३२ वर्षीय दिलिप कुमार राजवंशीलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकासहित बरामद गरिएको गाँजा र सवारीसाधनलाई आवश्यक अनुसन्धानका लागि लागू औषध नियन्त्रण ब्युरो विराटनगरमा राखिएको प्रहरीले जनाएको छ ।
