टिबी साह क्रिकेट मैदानको मुआब्जा प्रक्रिया छिट्टै टुंग्याउने मन्त्रीको आश्वासन
वीरगञ्ज, कार्तिक २० — सङ्घीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहको नेतृत्वमा जेन-जी युवा र सरोकारवालाहरूको टोलीले बिहीबार मन्त्रालयमा भेट गरी खेलकुद पूर्वाधार विकासका विषयमा विस्तृत छलफल गरेको छ।
छलफलका क्रममा अध्यक्ष सिंहले वीरगञ्जस्थित नारायणी रंगशालासँग जोडिएको टिबी साह क्रिकेट मैदानको स्तरोन्नति र मुआब्जा प्रक्रिया तिव्र रूपमा अगाडि बढाउन माग गरेका थिए। उनले उक्त मैदान खेलाडीहरूको नियमित अभ्यास केन्द्र भएकाले यसको स्तरोन्नति खेलकुद विकासका लागि अपरिहार्य रहेको बताए।

त्यस्तै सिंहले नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन, ११औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेस प्रदेशमा सफलतापूर्वक आयोजना गर्न आवश्यक पूर्वाधार तयार पार्न, विद्यालयस्तरमा खेल प्रशिक्षक नियुक्त गर्न, खेलाडीहरूका लागि पोषणयुक्त आहारको व्यवस्था गर्न तथा आदर्शनगर रंगशालाको स्तरोन्नति गर्न सरकारसँग आग्रह गरेका थिए।
मन्त्री गुप्ताले अध्यक्ष सिंहका सुझाव र मागहरूलाई सकारात्मक रूपमा लिँदै भने, “टिबी साह मैदानको मुआब्जा प्रक्रिया छिट्टै टुंग्याएर आवश्यक काम सुरु गर्छौँ। नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरमा उकास्ने हाम्रो स्पष्ट योजना छ।” उनले विद्यालयस्तरमा खेल प्रशिक्षक र खेलाडीहरूको पोषण व्यवस्थालाई पनि मन्त्रालयको प्राथमिकतामा राखिने बताएका छन्।
छलफलमा सहभागी जेन-जी युवाहरूले मन्त्री गुप्ताको प्रतिबद्धताले मधेस प्रदेशको खेलकुद क्षेत्रमा नयाँ ऊर्जा र उत्साह थपिने विश्वास व्यक्त गरेका छन्।
उक्त टोलीमा रोमी राजा, विनय गिरी, विक्की सर्राफ, सुशान्त साह, रोहित साह, सुमित गुप्ता, मुर्तुजा हावारी र रजत पाण्डे सहभागी थिए।
