सभ्य एवं सुरक्षित रूपमा होली पर्व मनाउन चितवन प्रहरीको अनुरोध

समाचार

चितवन, ७ चैत । जिल्ला प्रहरी कार्यालय चितवनले यस वर्षको होली पर्व सभ्य एवं सुरक्षित रूपमा मनाउन अनुरोध गरेको छ। आज एक सूचना जारी गर्दै होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन अनुरोध गरेको हो।

आत्मीय रूपमा नजिक भएका व्यक्ती वा आफन्तसँग मात्रै होली खेल्न प्रशासनको अनुरोध छ। ‘होली पर्वको नाममा मादक पदार्थको सेवन गरी उच्छृङ्खल क्रियाकलाप नगर्नू होला। असभ्य र अश्लील किसिमका होलिका गीतहरू नबजाउन र साँझ अबेरसम्म होली नखेल्न अनुरोध गरिन्छ,’ प्रशासनले जारी गरेको सूचनामा भनिएको छ।

प्रदूषण हुने गरी र मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने खालको चर्को आवाजमा साउन्ड सिस्टमको प्रयोग नगर्न आग्रह गरिएको छ। ‘कसैको इच्छा विपरीत रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहर पानी फाल्ने जस्ता काम गर्नु हुँदैन। महँगा गर गहना लगाई होली नखेल्न, ट्राफिक नियमको पर्ण रूपमा पालना गर्दै मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन, अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक, पैदल यात्री र बटुवा लाई होली खेल्न कुनै पनि प्रकारको करकाप नगर्न, गाँजा, भाङ वा कुनै किसिमको नशालु पदार्थ सेवन नगर्न, सार्वजनिक शान्ति, सुरक्षा व्यवस्थालाई असर पर्ने कुनै कार्य नगर्न हाम्रो आग्रह छ,’ जारी सूचनामा भनिएको छ।

साथै कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएकोमा तत्काल नजिकैको प्रहरी कार्यालय तथा नेपाल प्रहरीको हटलाइन नम्बर १०० वा जिल्ला प्रहरी कार्यालय चितवनको फोन नम्बर ९८५५०९०१३३ मा सम्पर्क गरी जानकारी गराउन प्रहरी प्रवक्ता/सूचना अधिकारी श्रीराम भण्डारीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *