बारा,२१ बैशाख ।
बाराको पथलैयामा रहेको राजस्व अनुसन्धान कार्यालयले कर छलीविरुद्ध आक्रामक र प्रभावकारी अभियान सञ्चालन गर्दै उल्लेखनीय सफलता हात पारेको छ। आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को पहिलो नौ महिनाको तुलनात्मक विवरण अनुसार कार्यालयले मुद्दा दर्ता, माग दाबी र धरौटी दाखिला लगायतका सूचकहरूमा उल्लेख्य वृद्धि हासिल गरेको छ।
विवरणअनुसार, आर्थिक वर्ष २०८०/८१ मा कर छलीसम्बन्धी मुद्दा मात्र २ वटा दर्ता भएकोमा २०८१/८२ मा सो संख्या १२ पुगेको छ, जसले ५०० प्रतिशत वृद्धि देखाएको छ। ती १२ वटा मुद्दामा ७६ जना प्रतिवादी छन्, जसमा ४ जना भन्सार कार्यालयका कर्मचारी पनि संलग्न रहेका छन्।
माग दाबी रकम पनि अघिल्लो वर्षको रु. २ करोड ४२ हजार २६६ बाट बढेर यस वर्ष रु. ७६ करोड ११ लाख ४ हजार ३४८ पुगेको छ, जुन ३६९८ प्रतिशतको अभूतपूर्व वृद्धि हो। त्यसैगरी, धरौटी दाखिला रकम पनि ७०.१४ प्रतिशतले बढ्दै रु. ५ करोड १ लाख ४७ हजार १७९ पुगेको छ।
भिसिटिएस जरिवाना दाखिलामा ४.९३ प्रतिशतको वृद्धि भएको छ भने विदेशी विनिमयसम्बन्धी मुद्दा संख्या भने दुवै वर्षमा ९ वटै कायम छ। यसले कार्यालयको कार्यसम्पादनमा स्थायीत्वसहितको प्रगति देखाउँछ।
कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरि प्रसाद शर्माले कर छली नियन्त्रण र राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउन अझ कडा कदम चालिने प्रतिबद्धता जनाएका छन्। जनशक्ति अभावका बाबजुद पनि कार्यालयले देखाएको प्रगति सुशासन, पारदर्शिता र राज्यको आर्थिक समृद्धिको लागि आशाको किरण बनेको छ।
