जनकपुरधाम, २६ कार्तिक ।
मधेश प्रदेशमा असंवैधानिक रूपमा नियुक्त भएको भन्दै सात दलिय गठबन्धनले तीव्र विरोध जनाएको छ । गठबन्धनले जारी गरेको विज्ञप्तिमा मिति २०८२ साल कार्तिक २२ गते तत्कालीन मधेश प्रदेश प्रमुख मा. सुमित्रा सुदेवी भण्डारीद्वारा नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवलाई संविधानविपरीत तरिकाले मुख्यमन्त्रीमा नियुक्त गरिएको भन्दै उक्त निर्णयको खारेजीको माग गरिएको छ ।
गठबन्धनले संविधान, संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षणका लागि जारी आन्दोलनमा सहभागि आन्दोलनकारीमाथि सुरक्षाकर्मीले गरेको लाठीचार्ज, अश्रुग्यास प्रहार र दमनको घोर भर्त्सना गरेको छ । साथै, घटनामा संलग्न सुरक्षाकर्मीमाथि आवश्यक कारबाहीको माग गर्दै आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
विज्ञप्तिमा गैरसंवैधानिक रूपमा महोत्तरी र सिन्धुली सिमानास्थित पानस वार एण्ड रेस्टुरेन्टमा शपथ ग्रहण गरेका मुख्यमन्त्री सरोज कुमार यादव र मन्त्रीपरिषद्का अन्य सदस्यहरूको सार्वजनिक रूपमा बहिष्कार गर्ने घोषणा गरिएको छ ।
संविधान, संघीयता र लोकतान्त्रिक गणतन्त्रको संरक्षणका लागि गठबन्धनले सम्पूर्ण मधेशवासी, न्यायप्रेमी नागरिक, नेता तथा कार्यकर्तालाई मिति २०८२ कार्तिक २६ गते बिहान ८:३० बजेदेखि सुरु हुने “विरोध तथा शान्तिपूर्ण आन्दोलन” मा सहभागी हुन आह्वान गरेको छ ।
विज्ञप्तिमा हस्ताक्षर गर्ने नेताहरूमा नेपाली काँग्रेस धनुषाका प्रतिनिधि कुमार कान्त झा, जसपा नेपालका अध्यक्ष पशुपति यादव, जनमत पार्टी धनुषाका इन्चार्ज सुरेन्द्र कुमार मण्डल, नेकपा माओवादी केन्द्रका प्रतिनिधि सुनिल कुमार यादव, लोसपा नेपाल धनुषाका अध्यक्ष जिवेन्द्र झा, नेकपा (एकीकृत समाजवादी) धनुषाका अध्यक्ष राजकुमार यादव र नागरिक उन्मुक्ति पार्टी धनुषाका अध्यक्ष दिनेश यादव रहेका छन् ।
