यातायात व्यवस्था कार्यालय तथा राहदानी विभागमा सेवा लिन आउने सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने पाँच जना पक्राउ

समाचार

काठमाडौं, २० चैत । यातायात व्यवस्था कार्यालय तथा राहदानी विभागमा सेवा लिन आउने सेवाग्राहीलाई लक्षित गरी अनावश्यक दुःख–हैरानी दिने तथा अतिरिक्त रकम असुली गर्ने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार, सेवाग्राहीलाई छिटो छरितो सेवा उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पार्ने, जबरजस्ती तान्ने र तोकिएको दस्तुरभन्दा बढी रकम असुल गर्ने गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–चन्द्रागिरी नगरपालिका–५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय अगाडिको सार्वजनिक सडकबाट तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–९ घर भई हाल चन्द्रागिरी–५ बस्ने २५ वर्षीय सन्तोष कुमार भोम्जन, सोही स्थानका २८ वर्षीय प्रविण सत्याल र ललितपुर थेचो गाउँपालिका–४ घर भई हाल काठमाडौं बस्ने ३५ वर्षीय सन्दिप महर्जन रहेका छन्।

त्यसैगरी, प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको सडकबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी घर भई हाल कोटेश्वर बस्ने ३३ वर्षीया चाँदनी साह र सिराहा घर भई हाल महाराजगञ्ज बस्ने २७ वर्षीय कामेश्वर शर्मा रहेका छन्।

उनीहरूले सेवाग्राहीलाई छिटो काम गराइदिने आश्वासन दिँदै अनावश्यक हैरानी दिने, जबरजस्ती तान्ने तथा अभद्र व्यवहार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ। साथै, यस्ता अवैध गतिविधिमा संलग्न नहुन तथा कसैले यस प्रकारको व्यवहार गरेमा तुरुन्त प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *