विराटनगर ,११ असोज । मोरङमा प्रहरीको आकस्मिक चेकिङ टोलीलाई देखेर भाग्न खोजेको स्कार्पियोबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ।
मिति २०८३ असोज १० गते राति करिब १० बजे विराटनगर महानगरपालिका–३ स्थित आयल निगम सडकमा प्रहरी चौकी बरगाछीबाट खटिएको टोलीले आकस्मिक चेकजाँच गरिरहेको थियो। सोही क्रममा इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को.१ च ७३९९ नम्बरको स्कार्पियोले प्रहरी चेकिङ टोलीलाई देखेपछि अचानक युटर्न गरी भाग्न खोजेको थियो।
भाग्ने क्रममा स्कार्पियोले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ४८२२ नम्बरको कारलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै प्रहरीले स्कार्पियो नियन्त्रणमा लिई खानतलासी गर्दा गाडीभित्र लुकाइछिपाइ राखिएको १३ वटा पोकामा ३९८ किलो गाँजा बरामद भएको हो।
प्रहरीका अनुसार स्कार्पियो चालक भने दुर्घटनापछि फरार भएका छन्। उनको खोजी तथा पहिचानको कार्य भइरहेको छ।
दुर्घटनामा बागमती प्रदेश ०१–०३० च ४८२२ नम्बरको कारका चालकको अवस्था सामान्य रहेको र कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
प्रहरीले गाँजा बरामद भएको स्कार्पियो र ठक्कर खाएको कार दुवै नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, मोरङमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी महेन्द्रकुमार मिश्रले जानकारी दिएका छन्।
प्रहरीले बरामद गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजाँदै गरिएको थियो तथा यसमा संलग्न अन्य व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान अघि बढाएको जनाएको छ।
