काठमाडौं, ११ असोज । नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा निकै माथि पुगेपछि नदी किनारका बस्तीहरूमा बाढी पस्न थालेको छ। देवघाटस्थित जलमापन केन्द्रका अनुसार नारायणी नदीमा जलसतह ११.४१ मिटर पुगेको छ।
नारायणीमा ७.३ मिटरलाई सतर्कता तह र ९ मिटरलाई खतरा तह मानिन्छ। अहिले नदीको जलसतह खतरा तहभन्दा २.४१ मिटर माथि पुगेपछि नदी आसपासका क्षेत्रमा बाढीको जोखिम उच्च बनेको छ।
नदीमा आएको बाढी भरतपुर महानगरपालिका–१ स्थित नदी किनारका बस्तीमा प्रवेश गरेको छ। बाढी घरभित्रै पसेपछि स्थानीय प्रभावित भएका छन्। घरमा पानी पसेसँगै सरसामानमा क्षति पुगेको छ भने स्थानीयवासी आवश्यक सामान सुरक्षित स्थानमा सार्न बाध्य भएका छन्। आसपासका केही विद्यालयसमेत डुबानमा परेका छन्।
शनिबारदेखि भइरहेको लगातार वर्षाका कारण कालीगण्डकीको बहावसमेत मनसुन अवधिकै उच्च बनेको छ। लगातारको वर्षा र नदीमा आएको बाढीका कारण देशका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको छ।
बागलुङमा पहिरोमा परी चारजनाको मृत्यु भएको छ भने पाल्पामा एकजनाको मृत्यु र तीनजना बेपत्ता भएका छन्। पर्वतमा कालीगण्डकीको बाढीले घर बगाएको छ भने स्याङ्जामा पुलसमेत बगेको छ। सेतीवेणी बजार डुबानमा परेको छ भने मनाङको ताल गाउँमा समेत बाढी प्रवेश गरेको छ।
यस्तै, वर्षाका कारण लमजुङमा बेँसीसहर–चामे सडक पूर्णरूपमा अवरुद्ध भएको छ। स्याङ्जामा सिद्धार्थ राजमार्ग बन्द भएको छ भने कर्णालीका प्रमुख राजमार्गसमेत प्रभावित भएका छन्। बागलुङका दर्जनौँ सडक अवरुद्ध भएका छन्।
नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गसमेत वर्षा तथा पहिरोका कारण प्रभावित भएका छन्। नवलपुरका विभिन्न बस्तीमा समेत डुबानको अवस्था देखिएको छ।
लगातारको वर्षा र नदीको जलसतह बढिरहेको अवस्थालाई ध्यानमा राख्दै नदी किनार तथा डुबानको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
