वीरगञ्जमा मोटरसाइकल चोरी गर्दै भाग्दै गरेका बारा निजगढका युवक पक्राउ

समाचार

(लिङ्करोडबाट चोरीको पल्सर मोटरसाइकलसहित २७ वर्षीय राकेश चौधरी प्रहरी नियन्त्रणमा)

वीरगञ्ज ,१६ कार्तिक । पर्सा प्रहरीले मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा एक जनालाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१६ स्थित लिङ्करोड सडकखण्डको छेउमा पार्किङ गरी राखिएको मोटरसाइकलको लक तोडी डोऱ्याउँदै भागिरहेको अवस्थामा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको हो।

मिति २०८३ साल कात्तिक १५ गते बिहान करिब ९:३० बजे वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले मधेश प्रदेश ०३–०३५ प ७१७५ नम्बरको २२० सीसीको रातो–कालो रंगको पल्सर मोटरसाइकलसहित बारा जिल्लाको निजगढ नगरपालिका–११ निवासी २७ वर्षीय राकेश चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उक्त मोटरसाइकल वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका ३० वर्षीय विकास कुमार कुशवाहाको नाममा दर्ता रहेको खुलेको छ। पार्किङ गरी राखिएको अवस्थामा मोटरसाइकलको लक तोडेर चोरी गरी लैजाने क्रममा प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिन सफल भएको हो।

पक्राउ परेका चौधरीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

वीरगञ्जका विभिन्न स्थानमा हुने सवारीसाधन चोरी नियन्त्रणका लागि प्रहरीले निगरानी तथा चेकजाँचलाई प्रभावकारी बनाउँदै आएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *