वीरगञ्ज,१६ कार्तिक । पछिल्लो समय डिजिटल माध्यमको प्रयोग बढेसँगै अनलाइन ठगीका घटनाबाट बच्न नेपाल प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
नेपाल प्रहरीले सामाजिक सञ्जाल, मोबाइल तथा अन्य डिजिटल माध्यमबाट आउने अपरिचित लिंक, नक्कली अफर र शंकास्पद सन्देशप्रति विशेष सावधानी अपनाउन नागरिकलाई अनुरोध गरेको हो।
प्रहरीले लोभलाग्दा प्रस्ताव तथा आकर्षक उपहारको प्रलोभनमा परेर अपरिचित लिंक नखोल्न र आफ्नो व्यक्तिगत तथा बैंकिङ विवरण सुरक्षित राख्न आग्रह गरेको छ।
विशेषगरी बैंक खातासम्बन्धी विवरण, ओटीपी (OTP), पासवर्ड तथा अन्य गोप्य जानकारी कसैलाई पनि उपलब्ध नगराउन प्रहरीले सचेत गराएको छ। साइबर अपराधीहरूले विभिन्न प्रलोभन देखाएर सर्वसाधारणको गोप्य विवरण प्राप्त गरी बैंक खाताबाट रकम चोरी गर्ने तथा अनलाइन ठगी गर्ने जोखिम रहेको भन्दै प्रहरीको यस्तो आग्रह आएको हो।
नेपाल प्रहरीले कुनै पनि अनलाइन प्रस्ताव वा सन्देशमा विश्वास गर्नुअघि त्यसको आधिकारिकता जाँच गर्न, शंकास्पद लिंकबाट टाढा रहन र अपरिचित व्यक्तिलाई व्यक्तिगत विवरण नदिन सुझाव दिएको छ।
डिजिटल प्रविधिको सुरक्षित प्रयोग, व्यक्तिगत विवरणको संरक्षण र साइबर ठगीविरुद्ध सामूहिक सचेतना आवश्यक रहेको उल्लेख गर्दै प्रहरीले ‘लोभलाग्दो प्रस्ताव होइन, सचेत निर्णय रोजौँ’ भन्ने सन्देशमार्फत नागरिकलाई जिम्मेवार डिजिटल व्यवहार अपनाउन आह्वान गरेको छ।
ठगीबाट बचौँ, आफू पनि सुरक्षित बनौँ र सुरक्षित डिजिटल समाज निर्माणमा हातेमालो गरौँ।
