‎सीमा सुरक्षामा सशस्त्र प्रहरीको कडाइ : १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामान बरामद

समाचार

काठमाडौ , १६ कात्तिक। सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउने उद्देश्यसहित सशस्त्र प्रहरी बल, नेपालले तस्करी, लागूऔषध कारोबार, हातहतियार ओसारपसार र मानव बेचबिखनविरुद्धको कारबाही तीव्र पारेको छ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ।

प्रधानमन्त्रीको आधिकारिक फेसबुक पेज ‘पीएमओ नेपाल’ मार्फत सोमबार सार्वजनिक गरिएको विवरणअनुसार २०८२ चैत १३ देखि २०८३ कात्तिक १२ गतेसम्मको अवधिमा उक्त सफलता हासिल भएको हो।

सशस्त्र प्रहरीले यस अवधिमा १७ थान अवैध हातहतियार बरामद गर्नुका साथै त्यससम्बन्धी गतिविधिमा संलग्न आठ जनालाई पक्राउ गरेको छ। त्यस्तै, लागूऔषध कारोबारमा संलग्न ४२१ जना पक्राउ परेका छन्।

उनीहरूको साथबाट गाँजा, चरेस, अफिम, खैरो हेरोइन, विभिन्न प्रकारका ट्याब्लेट तथा इन्जेक्सनलगायत लागूऔषध बरामद गरिएको जनाइएको छ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा समेत उल्लेखनीय काम भएको सरकारी विवरणमा उल्लेख छ। जोखिममा परेका १६७ जनाको उद्धार गरिएकोमा ११८ जना बालबालिका रहेका छन्।

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ९१ जनालाई पक्राउ गरिएको छ।

सीमा अतिक्रमण तथा दशगजा क्षेत्रको संरक्षणलाई प्राथमिकता दिँदै सशस्त्र प्रहरीले ३५ स्थानमा रहेका २३७ वटा संरचना हटाएको छ।

त्यस्तै, १७ स्थानमा अतिक्रमित ७.४४८ बिघा जग्गाबाट खेतीपाती हटाइएको छ। सीमा क्षेत्रलाई व्यवस्थित र स्वच्छ राख्ने अभियानअन्तर्गत २०४ स्थानमा ९४.५८८ किलोमिटर क्षेत्र सरसफाइ गरिएको छ।

सीमावासीसँगको सम्बन्ध सुदृढ बनाउने तथा सीमा सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले २ हजार ८०६ वटा कार्यक्रम सञ्चालन गरिएको छ।

यसैगरी, १४१ वटा सहायता कक्षबाट ३ लाख ४९ हजार ९०८ जना लाभान्वित भएका छन् भने १३ वटा पर्यटक सहायता कक्षमार्फत १० हजार ६५४ जनाले सेवा प्राप्त गरेका छन्।

सरकारले सीमा सुरक्षालाई प्राथमिकतामा राख्दै अवैध ओसारपसार, संगठित अपराध र सीमापार आपराधिक गतिविधि नियन्त्रणमा कडाइ गर्ने नीति लिएको छ।

सार्वजनिक तथ्यांकले सीमा सुरक्षा, राजस्व संरक्षण, मानव बेचबिखन नियन्त्रण र सीमावर्ती नागरिकलाई सेवा प्रवाह गर्ने क्षेत्रमा सशस्त्र प्रहरीको सक्रियता बढेको देखाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *