वीरगञ्ज,२० कार्तिक । आसन्न शुभदीपावली (तिहार) तथा छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्साले विभिन्न गतिविधिमा प्रतिबन्ध लगाउँदै अत्यन्त जरुरी सूचना जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले जनस्वास्थ्य, सार्वजनिक सुरक्षा तथा सामाजिक सद्भावलाई मध्यनजर गर्दै तिहार र छठ पर्वका अवसरमा पटका, भुइँचम्पा तथा आतिशबाजीजस्ता विस्फोटक र प्रज्वलनशील पदार्थको भण्डारण, बिक्री वितरण, ओसारपसार तथा प्रयोग पूर्ण रूपमा निषेध गरेको छ।
प्रशासनले चाडपर्व मनाउने वा मनोरञ्जन गर्ने नाममा अन्य व्यक्ति, छिमेकी तथा सार्वजनिक जनजीवनमा बाधा पुग्ने, असहजता सिर्जना गर्ने वा शान्ति सुरक्षामा खलल पुर्याउने कुनै पनि गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। त्यस्तै, सांस्कृतिक तथा परम्परागत रूपमा खेलिने देउसी–भैलो कार्यक्रम राति ९ बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ।
दीपावलीका क्रममा दीप प्रज्वलन तथा विद्युतीय उपकरणको अत्यधिक प्रयोग हुने भएकाले विद्युतीय सर्ट सर्किटबाट हुन सक्ने आगलागीका घटनाप्रति विशेष सतर्कता अपनाउन पनि प्रशासनले अनुरोध गरेको छ।
त्यसैगरी, कानुनले निषेध गरेका जुवा, तास, कौडा, लड्डुरबुर्जा तथा सट्टेबाजीजस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन चेतावनी दिँदै त्यस्ता गतिविधि सञ्चालन गरेको पाइएमा कडा कानुनी कारबाही गरिने जनाएको छ।
सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने तथा सामाजिक शान्ति खलल पार्ने कार्यसमेत निषेध गरिएको छ। चाडपर्वको मौका छोपी अखाद्य तथा म्याद गुज्रिएका वस्तु बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि तथा कालोबजारी गर्ने व्यवसायीमाथि समेत प्रशासनले कडा निगरानी राख्ने जनाएको छ।
यात्रुवाहक सवारी साधनलाई क्षमताभन्दा बढी यात्रु नराख्न, तोकिएको भन्दा बढी भाडा असुल नगर्न तथा जोखिमपूर्ण यात्रा नगर्न र नगराउन प्रशासनले निर्देशन दिएको छ।
शान्ति सुरक्षामा प्रतिकूल असर पर्ने कुनै पनि शंकास्पद गतिविधि वा घटना देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल नम्बर १०० मा जानकारी गराउनसमेत सर्वसाधारणलाई आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद चापागाईंद्वारा जारी सूचनामा उल्लिखित निर्देशनविपरीत गतिविधि सञ्चालन गरेको वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने स्पष्ट पारिएको छ।
प्रशासनले सम्पूर्ण जिल्लावासीलाई तिहार तथा छठ पर्व आपसी सद्भाव, भाइचारा, शान्ति र सुरक्षालाई प्राथमिकता दिँदै सभ्य एवं मर्यादित रूपमा मनाउन अपिल गरेको छ।
