मकवानपुर,२६ कार्तिक । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा यात्रुवाहक माइक्रोबस भीषण दुर्घटनामा पर्दा चालकसहित १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
प्रहरीका अनुसार आज बिहान करिब ५ः४५ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक माइक्रोबस सडकबाट अनियन्त्रित भई करिब ५०० मिटर तल भिरमा खसेको हो।
दुर्घटनाका समयमा माइक्रोबसमा चालकसहित १५ जना सवार रहेको प्रारम्भिक विवरणबाट खुलेको छ। दुर्घटनामा परी चालकसहित १० जनाको घटनास्थलमै वा दुर्घटनापछि मृत्यु भएको र अन्य ५ जना घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ सुरक्षाकर्मी तथा उद्धार टोली परिचालन गरी भिरमा खसेको माइक्रोबसबाट घाइते तथा मृतकहरूको उद्धार गरिएको जनाइएको छ।
दुर्घटना अत्यन्तै भीषण रहेको र माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेका कारण उद्धार कार्यसमेत चुनौतीपूर्ण बनेको थियो।
हालसम्म मृतक तथा घाइतेहरूको नाम, ठेगाना र पहिचान खुल्न बाँकी रहेको छ। दुर्घटना कसरी भयो भन्ने विषयमा समेत थप अनुसन्धान तथा विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनासम्बन्धी थप विस्तृत विवरण आउन बाँकी रहेको छ।
