बिरगंज ,माघ १९। जिल्ला प्रहरी कार्यालय पर्साले चण्डालचोक सडकखण्डबाट दुईवटा ट्याक्टरहरू पक्राउ गरेको छ ।
पर्सा प्रहरीका अनुसार बिल विजक भन्दा बढी विभिन्न खुद्रा तथा लत्ताकपडाहरू लगायतका मालबस्तुहरू बोकेको ट्याक्टरहरू नियन्त्रणमा लिइएको हो।
वीरगञ्जतर्फ ल्याउदै गरेको गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर तथा सशस्त्र प्रहरी वल पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलवार वीरगञ्ज महानगरपालिका वडा नं.२५ चण्डालचोक सडकखण्डबाट बि आर ०५ जि सि ४०७१ र बि आर ०५ जि ए ४३३४ नम्बरको ट्याक्टरहरूलाई रोकी जाँच गर्ने क्रममा विल बिजक संकास्पद देखिएको हुँदा सो ट्याक्टरहरूलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता तथा सूचनाअधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी गराएका छन ।
उक्त पक्राउ गरेको ट्याक्टरहरू र सो भित्र लोड रहेको सामानहरूको रू. २४,००,०००।– (चौबीस लाख ) बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि हिजो बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको बुढाथोकीले बताएका छन ।
