मस्को, २४ जेठ । रुसको नियन्त्रणमा रहेको युक्रेनी बाँध भत्किएको छ ।
बीबीसीका अनुसार सो ठूलो बाँध भत्किए पछि हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नोभा काखोभकामा बाँध भत्किएपछि ८० सहर र गाउँहरू बाढीले डुबानमा पर्न सक्ने बताएका छन् । सो बाँध भत्किनुमा उनले रुसलाई दोष दिएका छन्।
डिनिप्रो नदीमा अबस्थित सो बाँध भत्किए पछि मुख्यतः खेरसन सहरमा विनाशकारी बाढीको जोखिम निम्त्याउन सक्ने भन्दै सर्तकता अपनाउन अनुरोध गरिएको छ ।
मस्को र किभले एकअर्कालाई काखोभका बाँध भत्काएको आरोप लगाएका छन्। रुसले गत वर्ष युक्रेनमा आक्रमण गरेलगत्तै दक्षिणी युक्रेनको बाँध कब्जा गरेको थियो ।
बाँध भत्किएपछि एउटा सानो सहर र दुई दर्जन गाउँहरू डुबानमा परेका थिए र १७,००० मानिसहरूलाई विस्थापित गर्न बाध्य भएका छन् ।
उता, ह्वाइट हाउसले मंगलबार एक विज्ञप्ति जारी गर्दै युक्रेनमा विष्फोटपछि ठूलो बाँध भत्काउँदा धेरैको मृत्यु हुने सम्भावना रहेको बताएको छ । यो घटनाको पछाडि कसको हात थियो भन्ने अहिले नै कुनै ठोस प्रमाण नभएको पनि उसको भनाई छ ।
राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले भने, ‘अमेरिका अन्तिम निष्कर्षमा पुगेको छैन। हामी अझै जानकारी सङ्कलन गर्ने र युक्रेनीहरूसँग कुरा गर्ने प्रयास गरिरहेका छौं ।’
रुस नियन्त्रित युक्रेनको सबैभन्दा ठुलो बाँध भत्किए पछि हजारौं मानिसहरु बिस्थापित हुन पुगेका छन् ।
युक्रेनको नोभा काखोव नदी माथीकाे बाँध भत्किए पछि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ ।
सो बाँध भत्किनुमा रुस र युक्रेनले एक अर्कालाई दोष दिएका छन् । यद्धपी, ठुलो बिष्फोटका साथ बाँध भत्किए पछि युद्धले ग्रसित युक्रेनको समग्र अर्थतन्त्रमा थप ठुलो असर पर्ने जनाईएको छ ।
नोभा काखोवका बाँध युक्रेनको सबैभन्दा ठूलो बाँध मध्ये एक हो, यो हाल रूसको नियन्त्रणमा छ। यसको १९५६ मा निमार्ण पूरा भएको थियो। यो ३० मिटर अग्लो, ३.२ किलोमिटर लामो र १८ वर्ग किलोमिटरमा फैलिएको छ। यसमा लगभग १९ मिलियन घन लिटर पानी बोक्ने क्षमता राख्दछ । डिनिप्रो नदीमा बनेको यो बाँध जलविधुत, सिँचाइ र यातायातका लागि प्रयोग गरिदै आएको थियो भने महत्वपुर्ण कुरा यसले जेपोरेझिया आणविक ऊर्जा संयन्त्रलाई पनि पानी आपूर्ति गर्दै आएको थियो, जसले गर्दा आणविक संयन्त्रलाई चिसो राख्न निकै ठुलो मद्यत गरिरहेको अवस्था थियो ।
नोभा काखोभका जलविद्युत् आयोजना बन्द हुँदा अब करिब ३० लाख जनतालाई विद्युत् उपलब्ध नहुने भएको छ, जसकाकारण युक्रेनमा थप ऊर्जाको समस्या बढने देखिएको छ । यो बाँधले युक्रेनको खेरसन क्षेत्रका साथै क्रिमियालाई पानी आपूर्ति गर्दथ्यो, जसकाकारण सो क्षेत्रका किसानहरुलाई आफनो उब्जनीका लागि सबैभन्दा भरपर्दो माध्यमको रुपमा रहेको थियो ।
खेरसन क्षेत्र हालको युद्धमा रुसको कब्जामा पुगेको थियो भने क्रिमिया सन् २०१४ देखि कब्जामा रहदैँ आएको छ । सन् २०२२ मा पनि यस बाँधसँग जोडिएको पुलमा आक्रमण भएको थियो, जसका कारण त्यो पुल भाँचिएको थियो ।
रुसी पक्षबाट यसअघि नै युक्रेनले सो बाँधमा आक्रमण गर्ने र त्यसमा रुसलाई जिम्मेवारी दिएर बदनाम गर्ने प्रयास गर्ने आशंका जनाएको थियो ।