बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न ।

समाचार

मकवानपुर ,१० जेठ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा बुधबार आयोजित कार्यक्रम बिच दुई दिवसीय बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८१ मकवानपुरको हेटौंडामा सम्पन्न भएको छ ।

नेपाल सरकार गृहमन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा मंगलबार उक्त गोष्ठी शुरू भएको थियो ।

गोष्ठीको समापन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले सबै सुरक्षा निकायहरूले आम नागरिकको सुरक्षा संवेदनशीलता, सामिप्यतालाई प्रभावकारी हुने किसिमको कामहरू गर्नुपर्ने बताउनुभयो । गोष्ठीमा राखिएका विषयवस्तु एवम् छलफलहरू लाभदायी भएको चर्चा गर्दै गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘गोष्ठीलाई गृह मन्त्रालय र प्रदेश सरकार बिच पुलको रूपमा व्याख्या गर्न चाहन्छु ।

सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेल, बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ र बागमती प्रदेशका का.मु. प्रमुख सचिव गोविन्द बहादुर कार्कीले गोष्ठीको महत्व एवम् आवश्यकताबारे आ-आफ्नो विचार व्यक्त गर्दै प्रहरी समायोजन हुनुपर्ने धारणा राख्नुभएको थियो ।

सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रदेशको समग्र हित, दिगो विकास र शान्तिका लागि सम्पूर्ण सरोकारवालाहरू बिचको प्रतिवद्धता प्रवर्द्धन तथा साझेदारहरू बिचको सहकार्य अभिवृद्धिमा गोष्ठी साझा प्लेटफर्मको रूपमा साबित हुने विश्‍वास व्यक्त गर्नुभयो । शान्ति सुरक्षा राज्यको उच्च प्राथमिकताको क्षेत्र रहेको र यसको अभावमा राज्यको सुशासन एवम् समृद्धितर्फको गति समेत प्रभावित हुने भएकोले यसतर्फ गम्भीर र संवेदनशील रही निर्दिष्ट जिम्मेवारी इमानदारीपूर्वक बहन गर्न नेपाल प्रहरी प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।

गोष्ठीमा नेपाली सेनाका रथी अशोकराज सिग्देल, सशस्त्र  प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सह-सचिवहरू नारायण प्रसाद भट्टराई, थानेश्‍वर गौतम र स्किम श्रेष्ठ तथा बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्ण बहादुर दर्जीले आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । साथै बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवं आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

गोष्ठीमा बागमती प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती र अगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल समेत भएको थियो ।
गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव एकनारायण अर्यालले मन्तव्यसहित गोष्ठी समापन गर्नुभयो । गोष्ठीमा गृह मन्त्रालयका पदाधिकारीहरू, बागमती प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरू, बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।स्रोत नेपाल प्रहरी ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *