रसीद आलम, बिरगंज ,२७ कार्तिक ।
बिरगंज महानगरपालिकाले नगर क्षेत्रका सामुदायिक र निजी विद्यालयका करिब १० हजारभन्दा बढी छात्रालाई आत्मरक्षाका लागि एकदिने तालिमको आयोजना गरेको छ। कक्षा ६ देखि १२ सम्मका छात्राहरुका लागि आयोजना गरिएको यो तालिम बुधबार बिहान १० बजे सुरु हुनेछ।
महानगरका प्रमुख रजेशमान सिंहका अनुसार, एकैसाथ १० हजारभन्दा बढी किशोरीलाई आत्मरक्षा तालिम दिँदै महानगरले गिनिज बुकमा नाम लेखाएर विश्व कीर्तिमान राख्ने योजना बनाएको छ। उनले तालिम सफलतापूर्वक सम्पन्न भएमा बिरगंजको नाम अन्तर्राष्ट्रिय स्तरमा चर्चित हुने विश्वास व्यक्त गरेका छन्।
तालिमको आयोजना बिरगंज महानगरपालिकाले गरेको हो भने नेपाल भारत सहयोग मञ्चको समन्वयमा भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डा. चिता यजनेश शेट्टीलाई बोलाएर किशोरीहरूलाई आत्मरक्षामा प्रशिक्षित गराइनेछ। शेट्टीले अमिताभ बच्चन, सलमान खान, ऋतिक रोशन, ज्याकी च्यानजस्ता बलिउड र हलिउड कलाकारहरूलाई समेत प्रशिक्षण दिएका छन्। महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले यो तालिमले किशोरीहरूको आत्मविश्वासमा वृद्धि गराउने र समग्र समाजमा सकारात्मक प्रभाव पार्ने बताए।
तालिमको लागि आदर्शनगर रंगशालामा सम्पूर्ण तयारी पूरा भइसकेको छ। छात्राहरूलाई ल्याउने र लैजाने तथा सुरक्षाको विशेष व्यवस्था गरिएको महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिए। स्थानीय बासिन्दा र विभिन्न सामाजिक संस्थाहरूले महानगरको यस कदमलाई सकारात्मक रूपमा लिएका छन्।
यो तालिम सफलतापूर्वक सम्पन्न भएमा बिरगंजको नाम विश्व कीर्तिमानमा समावेश हुनेछ, जसले महानगरको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा बलियो बनाउनेछ।
