वीरगञ्ज,७ फागुन ।
वीरगञ्ज महानगरपालिकाको आयोजनामा राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा विशेष सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। मिति २०८१ फागुन ७ गते बिहान ७:२५ बजे सुरु भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रको कमाण्डमा ६० जना सुरक्षाकर्मी, सशस्त्र प्रहरी बल नेपाल पर्साका स.प्र.ना.उ. नरेन्द्र सिंह धामी, स.प्र.ना.नि. दुर्गा खत्री सहित १० जना, वीरगञ्ज महानगरपालिकाका नगर प्रहरी निरीक्षक हरि धिताल, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान लगायत अन्य कर्मचारी तथा स्थानीय बासिन्दा गरी करिब १२० जनाको सहभागिता रहेको थियो।
उक्त सरसफाई कार्यक्रम वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित घण्टाघरबाट सुरु भई लिंक रोड हुँदै बसपार्कसम्म सञ्चालन गरिएको थियो। कार्यक्रममा उपस्थित व्यक्तिहरूले सडक तथा सार्वजनिक स्थलहरूमा रहेको फोहोर व्यवस्थापन गरी सरसफाईको सन्देश फैलाएका थिए।
यस अभियानले महानगर क्षेत्रलाई सफा राख्न र वातावरणीय स्वच्छताको महत्त्वबारे नागरिकहरूलाई जागरूक गराउन मद्दत पुग्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
