वीरगञ्ज, १० चैत ।
सशस्त्र प्रहरी बल पर्साको प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगञ्जका डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको टोलीले भन्सार छली चोरी तस्करी गरिएका करिब ४ लाख १४ हजार एक सय रुपैयाँ बराबरको कपडा सहित एक अटो र एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
वीरगञ्ज महानगरपालिका-१६, सीमा नाकामा पर्ने विभिन्न क्षेत्रहरूबाट बरामद गरिएको सामानमध्ये, वीरगञ्ज भन्सार कार्यालय अगाडि रहेको चेकपोस्टमा जाँचका क्रममा भारतबाट भन्सार छली ल्याइँदै गरेको कपडा लुकाइएको अवस्थामा फेला परेको थियो।
नगवाका ३७ वर्षीय अटो मालिक तथा चालक सञ्जु साहले अटोको विभिन्न भागमा लुकाएर कपडा ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो।ना.१ ह ९८३१ नम्बरको उक्त अटोमा लुकाइएका कपडा तथा अटोको मूल्य करिब २ लाख १३ हजार रुपैयाँ रहेको छ।
त्यसैगरी, वीरगञ्ज-१६, इनर्वाबाट भन्सार छली ल्याइँदै गरेको अवस्थामा थप २ लाख १ हजार १ सय रुपैयाँ बराबरको कपडा बरामद गरिएको छ। बरामद गरिएका कपडा, अटो तथा पक्राउ परेका व्यक्तिलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
