जितेन्द्र सोनल मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री

समाचार

मधेस प्रदेश ,३० असोज  । मधेस प्रदेशमा नयाँ सरकार गठन भएको छ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र प्रसाद सोनल मधेस प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन्।

बुधवार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सोनललाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्। प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, सोनललाई जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) सहित ५६ प्रदेशसभा सदस्यको समर्थन प्राप्त छ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ। सोनलको पक्षमा जसपा नेपालका १९, लोसपाका ८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ र नाउपाका १ सांसद छन्।

यसअघि जनमत पार्टीका सतिशकुमार सिंह अल्पमतमा परेपछि मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सोनलले बुधवार बिहान ६ दलको समर्थनमा ५७ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पदका लागि दाबी पेश गरेका थिए। सोही समयमा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवले पनि नेकपा एमाले, काँग्रेस र जनमत पार्टीका ५८ सांसदको समर्थनसहित दाबी पेश गरेका थिए।

तर जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले सोनललाई समर्थन गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएपछि काँग्रेस–एमाले गठबन्धनको दाबी असफल भयो। दाबी पेस गर्ने क्रममा प्रदेश प्रमुखको कार्यालयमा केही समय तनाबसमेत सिर्जना भएको थियो।

जनमत पार्टीले अन्तिम समयमा आफ्नो समर्थन सोनलतर्फ मोडेपछि काँग्रेस र एमालेले दाबी असफल भएको थियोे । यसबीचमा निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साहले नयाँ बनेको जनस्वराज पार्टी (जस्वपा) मा सनाखत गरेका छन्।

यदि जनस्वराज पार्टीले सोनलको सरकारलाई समर्थन नगरेमा उनको पक्षमा ५४ सांसद मात्र रहनेछन् — जुन बहुमतका लागि आवश्यक ठ्याक्कै संख्या हो।

सोनल मधेस आन्दोलनका अग्रपङ्क्तिका नेता हुन्। बारा जिल्लाको परवानीपुर गाउँपालिकाका निवासी सोनल पहिलो संविधानसभा सदस्य रहिसकेका छन्। दोस्रो संविधानसभामा पराजित भएका उनी २०७९ सालमा बारा क्षेत्र नं. ४ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।

उनी पहिलो मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। गजेन्द्र नारायण सिंहको सद्भावना पार्टीबाट विद्यार्थी राजनीति सुरु गरेका सोनल पछि मधेसी जनअधिकार फोरम हुँदै महन्त ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीमा आवद्ध भएका थिए। हाल उनी लोसपा मधेस प्रदेश अध्यक्ष समेत हुन्।

सोनलको नियुक्तिसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *