रसीद आलम।
जनकपुरधाम,३० असोज । नेपालीहरूको महान पर्व “शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्बत ११४६” को शुभ अवसरमा मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोबिन्द थपलियाले प्रदेशवासी सबैमा सुरक्षित, शान्त र मर्यादित रूपमा पर्व मनाउन हार्दिक अपिल गरेका छन्।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका तर्फबाट जारी सार्वजनिक सन्देशमा प्रदेशवासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि र प्रगतिका शुभकामना व्यक्त गर्दै प्रहरीले निम्न सात बुँदामा विशेष ध्यान दिन अनुरोध गरेको छ।
१) आतिशबाजी निषेध — कानुनले प्रतिबन्धित गरेको पटाका, झिरझिरे, रकेट, भुईचम्पा आदि कुनै पनि प्रकारका आतिशबाजी नगर्न र नगराउन अनुरोध गरिएको छ। यस्ता कार्यबाट आगलागी, दुर्घटना र ध्वनि प्रदूषणका कारण जनधनको क्षति हुन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ।
२) सुरक्षा सचेतना — मेला, पर्व वा भिडभाडमा जाँदा नगद र गरगहना सुरक्षित राख्न, अत्यधिक भीड भएको स्थानमा महँगो गरगहना नलगाउन सुझाव दिइएको छ।
३) जुवातास र गैरकानुनी खेल प्रतिबन्ध — जुवातास, लङ्गुरबुर्जा, कौडा लगायतका गैरकानुनी खेल खेल्ने वा खेलाउने कार्य दण्डनीय अपराध भएकाले यस्ता गतिविधि नगर्न र भए तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ।
४) मादक पदार्थ सेवन गरि सवारी चलाउनमा प्रतिबन्ध — मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन, होहल्ला नगर्न र आपसी सद्भाव कायम गर्न आग्रह गरिएको छ।
५) ध्वनि प्रदूषण नियन्त्रण — अत्यधिक आवाजमा डिजे (DJ) बजाउने कार्यबाट अशक्त, बिरामी, जेष्ठ नागरिक तथा बालबालिकालाई असुविधा हुने भएकाले निश्चित समयसीमा र मापदण्डभित्र रहेर मात्र सिमित आवाजमा मनोरञ्जन गर्न भनिएको छ।
६) फरार अभियुक्तमा निगरानी — विभिन्न जिल्लाबाट फरार रहेका कैदीबन्दीहरू चाडपर्वमा गाउँ फर्कन सक्ने भएकाले शंकास्पद व्यक्तिहरू देखिएमा नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउन भनिएको छ।
७) घर र पसलको सुरक्षा — घर वा पसल छाडी कतै जानु परेमा छिमेकी, आफन्त वा नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउन र झ्यालढोका राम्रोसँग बन्द गरेर मात्र बाहिर जान सुझाव दिइएको छ।
प्रहरीले सबै नागरिकलाई शुभ दीपावली र छठ पर्व शान्तिपूर्ण, सुरक्षित, मर्यादित, मितव्ययी, सभ्य र भव्य रूपमा मनाउन अपिल गरेको छ। कुनै पनि शंकास्पद गतिविधि वा अवाञ्छित घटना देखिएमा तत्काल प्रहरी हटलाइन १०० मा सम्पर्क गर्न आग्रह गरिएको छ।
उक्त जानकारी मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कमल थापाले दिएका हुन्।
