काठमाडौँ, ११ कार्तिक । स्पेनकाे राजधानी म्याड्रिडको दक्षिणमा स्पेनको तीव्र गतिको रेल अर्को रेलसँग आपसमा ठोक्किँदा कम्तीमा ६४ जनाको मृत्यु भएको छ।
मृतकहरूको यो पछिल्लो सङ्ख्यासँगै सन् २०१३ यता स्पेनमा भएको यो सबैभन्दा भयानक रेल दुर्घटना बनेको छ। यसअघि सन् २०१३ मा उत्तर-पश्चिमी स्पेनमा रेल लिकबाट बाहिरिँदा ८० जनाको ज्यान गएको थियो।
क्षेत्रीय सरकारका प्रवक्ताका अनुसार आज भएको यस दुर्घटनामा संलग्न रेलहरूमा ५०० भन्दा बढी यात्रुहरू सवार थिए।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यस गम्भीर रेल दुर्घटनाबाट आफू स्तब्ध भएको बताउँदै यातायात मन्त्रीसँग निरन्तर सम्पर्कमा रहेको जनाएका छन्।
रेल सञ्चालक संस्था ‘आदिफ’का अनुसार यो दुर्घटना ‘रेन्फे’ कम्पनीको रेल र ‘इरियो’ कम्पनीको अर्को रेलबीच भएको हो। ‘इरियो’ कम्पनीले म्याड्रिडदेखि सेभिलसम्मको रुटमा सेवा प्रदान गर्दै आएको छ।
दुर्घटनाग्रस्त रेलमध्ये एउटामा सवार १७ वर्षीय एक किशोरले स्पेनको एक प्रसारण संस्थालाई बताएअनुसार घटनास्थलमा “पूर्ण अस्तव्यस्तता” थियो र यो “एक ठूलो विपत्ति” थियो।
