कात्तिक १२, १३ र १४ गतेसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह

समाचार

काठमाडौं, ११ कात्तिक । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिन उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

बंगालको खाडीमा रहेको ‘अर्नब’ चक्रवातको प्रभावले कात्तिक १२, १३ र १४ गते नेपालका अधिकांश प्रदेशमा भारी वर्षा, हावाहुरी तथा हिमपातको जोखिम रहेको भन्दै प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

प्राधिकरणका अनुसार चक्रवातको प्रभावले चट्याङसहित भारी वर्षा र हावाहुरी हुन सक्नेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको समेत जोखिम रहेकाले सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गरिएको छ।

सम्भावित प्रतिकूल मौसमबाट धानबालीमा क्षति पुग्न सक्ने भएकाले कात्तिक १२ गते बिहीबारअघि नै धान काट्ने तथा भित्र्याउनेलगायत कृषि कार्य सम्पन्न गर्न प्राधिकरणले आग्रह गरेको छ।

त्यसैगरी, पर्यटकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान र उक्त क्षेत्रमा पुगिसकेका पर्यटकलाई जोखिम अवधिभर सुरक्षित स्थानमा बस्न भनिएको छ।

खराब मौसमका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि प्राधिकरणले अनुरोध गरेको छ। आवश्यक परेमा सवारी आवागमन बन्द गर्न र त्यसअघि सर्वसाधारणलाई अग्रिम जानकारी गराउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

प्राधिकरणले संघीय मन्त्रालय, प्रदेश तथा स्थानीय सरकार, सुरक्षा निकाय र स्वयंसेवकलाई विपत् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन तथा सर्वसाधारणलाई जोखिमबारे सचेत गराउन निर्देशन दिएको छ।

जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई पूर्वसूचनाका आधारमा विपत् आउनुअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्नसमेत आग्रह गरिएको छ। प्राधिकरणले नेपाल मौसम विज्ञान विभागलगायत आधिकारिक निकायबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान तथा चेतावनी पालना गर्न र सम्भावित जोखिमबाट बच्न सबैलाई आग्रह गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *