वीरगञ्जमा महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित तीनमहिने सिलाई कटाई तथा ब्यूटिसियन तालिम सुरु

समाचार

वीरगञ्ज,११ कार्तिक  । महिलाहरूको सीप विकास, स्वरोजगार प्रवर्द्धन तथा आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले पर्साको वीरगञ्जमा तीनमहिने सिलाई कटाई तथा ब्यूटिसियन तालिम सुरु गरिएको छ।

नेपाल ट्रेड युनियन पर्साको आयोजनामा सञ्चालन हुन लागेको उक्त तालिमको वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले गमलामा पानी हालेर औपचारिक उद्घाटन गर्नुभएको हो।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि उपप्रमुख आलमले महिलालाई सीपयुक्त र आत्मनिर्भर बनाउन यस्ता व्यावसायिक तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्दै महिलाहरूले आफ्नै व्यवसाय सञ्चालन गर्न, आयआर्जन बढाउन र परिवारको आर्थिक अवस्था सुधार गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

उपप्रमुख आलमले आगामी दीपावली तथा छठ पर्वको अवसरमा सम्पूर्ण नगरवासीलाई अग्रिम शुभकामना व्यक्त गर्दै नेपाली कांग्रेसको भ्रातृ संस्थाका रूपमा रहेको ट्रेड युनियनले नागरिकको कार्यदक्षता वृद्धि तथा सीप विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो।

तीन महिनासम्म सञ्चालन हुने तालिममा कुल ३० जना महिला सहभागी छन्। जसमध्ये १५ जनाले सिलाई कटाई र १५ जनाले ब्यूटिसियनसम्बन्धी तालिम लिनेछन्। सिलाई कटाईतर्फ मजिद मिया र ब्यूटिसियनतर्फ राधा हमालले प्रशिक्षण दिने व्यवस्था गरिएको छ।

तालिममार्फत महिलाहरूलाई व्यावहारिक सीप प्रदान गरी भविष्यमा स्वरोजगार बन्न सक्षम बनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ। सीपमूलक तालिमले महिलालाई रोजगारीका अवसर खोज्न मात्र नभई आफ्नै व्यवसाय स्थापना गरी आर्थिक रूपमा सबल बन्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष महमद रेयाज मिया, नेपाल ट्रेड युनियन मधेस प्रदेशका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद कुर्मी तथा नेपाली कांग्रेस श्रमिक संघका केन्द्रीय अध्यक्ष अमृतलाल जोशीको उपस्थिति रहेको थियो।

त्यसैगरी वडा नम्बर २ का वडा सदस्यहरू बसिर मिया, चन्द्रनारायण सिंह रिजाल, पुन्देवप्रसाद यादव, उर्मिला थापालगायत स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो।

नेपाल ट्रेड युनियन पर्साका अध्यक्ष छोटेलाल प्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय पदाधिकारी तथा अगुवाहरूको सक्रिय सहभागिता रहेको थियो।

महिलाहरूलाई सीप, अवसर र स्वरोजगारसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको यस तालिमले सहभागी महिलाहरूलाई आत्मनिर्भर बन्न तथा स्थानीय स्तरमै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *