काठमाडौं ,९ कार्तिक । काठमाडौंको कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजदेखि सञ्चालन हुन लागेको नेपाल प्रिमियर लिग (NPL) सिजन–३ क्रिकेट प्रतियोगितालाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौंले सर्वसाधारण, क्रिकेटप्रेमी तथा दर्शकलाई विशेष अनुरोध गरेको छ।
प्रतियोगिताका क्रममा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्नुका साथै खेलकुदको वातावरण शान्तिपूर्ण र सभ्य बनाउन प्रहरीले विभिन्न सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंले गैरकानुनी बेटिङ तथा सट्टेबाजी नगर्न र नगराउन आग्रह गर्दै खेलकुद प्रतियोगितालाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबैको सहयोग आवश्यक रहेको जनाएको छ।
प्रहरीले जात, धर्म, लिङ्ग, वर्ण, भूगोल, संस्कृति तथा परम्परालगायत सबै प्रकारका विविधताको सम्मान गर्न पनि दर्शकलाई अनुरोध गरेको छ। खेलकुदलाई आपसी सद्भाव, एकता र मनोरञ्जनको माध्यमका रूपमा लिनुपर्नेमा जोड दिँदै कुनै पनि प्रकारको विभेदपूर्ण व्यवहार नगर्न आग्रह गरिएको छ।
त्यसैगरी, मैदानभित्र निषेधित सामग्री नलैजान, भीडभाडमा पाकेटमारी तथा चोरीबाट जोगिन र आफ्ना मोबाइल, पर्स, टिकट तथा अन्य व्यक्तिगत सामानको सुरक्षामा विशेष ध्यान दिन प्रहरीले सचेत गराएको छ।
प्रतियोगिता अवधिमा सुरक्षाकर्मीबाट गरिने अनिवार्य सुरक्षा जाँचमा सहयोग गर्न, सुरक्षा निर्देशनको पालना गर्न तथा ट्राफिक नियमअनुसार सवारीसाधन सञ्चालन गर्न पनि प्रहरीले अनुरोध गरेको छ।
टिकट ‘सोल्ड आउट’ भएपछि रंगशाला आसपास अनावश्यक भीड नगर्न आग्रह
NPL सिजन–३ का लागि टिकट बिक्री भइसकेर ‘सोल्ड आउट’ भएको अवस्थामा टिकट नपाएका दर्शकलाई रंगशालाको प्रवेशद्वार तथा आसपासका क्षेत्रमा अनावश्यक भीडभाड नगर्न जिल्ला प्रहरी परिसर काठमाडौंले विशेष आग्रह गरेको छ।
टिकट नभई मैदानबाहिर भेला हुँदा सुरक्षा व्यवस्थापन तथा ट्राफिक आवागमनमा समस्या उत्पन्न हुन सक्ने भएकाले घरमै बसेर वा उपलब्ध आधिकारिक माध्यमबाट प्रतियोगिताको आनन्द लिन प्रहरीले सुझाएको छ।
प्रतियोगितालाई व्यवस्थित रूपमा सम्पन्न गर्न प्रहरीको सुरक्षा व्यवस्थापन मात्र पर्याप्त नहुने भन्दै आयोजक, दर्शक, खेलप्रेमी तथा स्थानीयवासी सबै जिम्मेवार बन्नुपर्ने देखिन्छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले प्रचलित कानुनको पालना गर्दै सुरक्षित, सभ्य र जिम्मेवार नागरिकको परिचय दिन सबैमा अपिल गरेको छ।
‘खेलको सम्मान गरौँ, अवैध सट्टेबाजीबाट टाढा रहौँ, सुरक्षा व्यवस्थामा सहयोग गरौँ र NPL सिजन–३ लाई सभ्य तथा सुरक्षित बनाऔँ।’
