पर्सामा सशस्त्र प्रहरीको ठूलो सफलता : ४४ लाखभन्दा बढीका अवैध सामान भन्सार दाखिला, ३ लाखका पटाका नष्ट

समाचार

(तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता तीव्र, विभिन्न नाकाबाट मोबाइल पार्ट्स, औषधि, कपडा, कस्मेटिक तथा किराना सामान बरामद)

वीरगञ्ज, ८ कार्तिक  । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले सीमा क्षेत्रमा हुने अवैध तस्करी नियन्त्रण अभियानलाई तीव्रता दिँदै ४४ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान भन्सार दाखिला गरेको छ। त्यस्तै, तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा भित्र्याइएका करिब ३ लाख रुपैयाँ मूल्यका प्रतिबन्धित पटाका नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्सा तथा मातहतका विभिन्न कार्यालयबाट खटिएका टोलीले पर्सा जिल्लाका विभिन्न स्थानीय तह तथा सीमा क्षेत्रमा निगरानी र चेकजाँच गर्ने क्रममा भन्सार छली गरी नेपाल भित्र्याइएका सामान बरामद गरेका हुन्।

सशस्त्र प्रहरीका अनुसार, मिति २०८३ कात्तिक ८ गते विभिन्न स्थानबाट बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको हो।

प्रसौनीभाठ्ठामा १८ लाखभन्दा बढीका मोबाइल पार्ट्स बरामद

मिति २०८३ कात्तिक ६ गते पर्साको बिन्दवासिनी गाउँपालिका–५, प्रसौनीभाठ्ठास्थित सशस्त्र प्रहरी बलको बीओपी प्रसौनीभाठ्ठाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली गरी बा.६३ प ६८१५ नम्बरको मोटरसाइकलमा लोड गरेर नेपालतर्फ ल्याउँदै गरेको १८ लाख ४१ हजार ५०० रुपैयाँ मूल्य बराबरका मोबाइल पार्ट्स बरामद गरेको थियो।

सोही बीओपीबाट खटिएको अर्को टोलीले ५९ हजार ४० रुपैयाँ मूल्य बराबरका कपडा तथा मोटर पार्ट्ससमेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

खल्वा सीमा क्षेत्रमा बेवारिसे औषधि बरामद

यसैगरी, मिति २०८३ कात्तिक ७ गते वीरगञ्ज महानगरपालिका–२५, खल्वास्थित सीमा क्षेत्रमा बीओपी ड्राईपोर्टबाट खटिएको पैदल गस्ती टोलीले धान खेतमा बेवारिसे अवस्थामा राखिएका विभिन्न प्रकारका औषधि तथा अन्य सामान बरामद गरेको थियो।

बरामद सामानको मूल्य ८ लाख १७ हजार ६८० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। उक्त सामान सीमा क्षेत्रमा अवैध रूपमा भित्र्याइएको आशंकामा नियन्त्रणमा लिइएको हो।

विभिन्न नाकाबाट लाखौँका सामान नियन्त्रणमा

सशस्त्र प्रहरीका अनुसार, विभिन्न मिति तथा स्थानमा खटिएका टोलीले अन्य अवैध सामानसमेत बरामद गरेका छन्।

सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले ३ लाख ५ हजार ६२० रुपैयाँ मूल्य बराबरका खरबुजाको बीउ, तोरी तथा कपडा बरामद गरेको छ।

त्यस्तै, सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले १ लाख ८४ हजार रुपैयाँ मूल्य बराबरका कपडा तथा इलेक्ट्रोनिक्स सामान नियन्त्रणमा लिएको छ। बीओपी सिर्सियाबाट विभिन्न मितिमा परिचालित टोलीले २ लाख १६ हजार रुपैयाँ मूल्य बराबरका कपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

यसका अतिरिक्त, मिति २०८३ कात्तिक ८ गते पर्सा जिल्लाका विभिन्न स्थानीय तह तथा सीमा क्षेत्रबाट खटिएका टोलीले भारतबाट भन्सार छली गरी विभिन्न सवारीसाधनमा लोड गरेर नेपालतर्फ ल्याउँदै गरेका ७ लाख १० हजार ५२० रुपैयाँ मूल्य बराबरका कपडा, कस्मेटिक तथा किराना सामानसमेत बरामद गरेका थिए।

तिहार र छठलाई लक्षित गरी ३ लाखका प्रतिबन्धित पटाका नष्ट

चाडपर्वको समयमा हुन सक्ने अवैध ओसारपसार तथा प्रतिबन्धित विस्फोटक पदार्थको कारोबार नियन्त्रण गर्न सशस्त्र प्रहरीले विशेष निगरानी बढाएको छ।

तिहार तथा छठ पर्वलाई लक्षित गरी पर्साका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भित्र्याइएका करिब ३ लाख रुपैयाँ मूल्य बराबरका प्रतिबन्धित पटाका नियन्त्रणमा लिइएको थियो। नियन्त्रणमा लिइएका पटाका आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सीमा सुरक्षामा निगरानी तीव्र

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले सीमा क्षेत्रमा हुने भन्सार छली, अवैध ओसारपसार तथा प्रतिबन्धित सामग्रीको कारोबार नियन्त्रणका लागि मातहतका युनिटमार्फत नियमित गस्ती, चेकजाँच र निगरानी गर्दै आएको छ।

चाडपर्वको समयमा सीमावर्ती क्षेत्रबाट हुन सक्ने तस्करी तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले थप सक्रियता देखाएको छ। बरामद गरिएका भन्सार छलीका सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको र प्रतिबन्धित पटाका आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको जनाइएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (स.प्र.ना.उ.) सुरज क्षेत्रीले उक्त जानकारी दिएका हुन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *