वीरगञ्जमा टाङ्गाको ठक्करबाट ड्युटीमा रहेका प्रहरी हवल्दार गम्भीर घाइते, खुट्टाको हड्डी भाँचियो

समाचार

वीरगञ्ज,८ कार्तिक । पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित रजत जयन्ती चेकपोस्टमा ड्युटीमा खटिएका प्रहरी हवल्दार ओमप्रकाश यादव टाङ्गाको ठक्करबाट घाइते भएका छन्। ठक्करबाट उनको खुट्टाको हड्डी भाँचिएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी इनर्वामा कार्यरत हवल्दार यादव ड्युटीमा रहेको समयमा टाङ्गाले ठक्कर दिँदा घाइते भएका हुन्। घटनापछि उनलाई उपचारका लागि अस्पताल लगिएको छ। प्रहरीका अनुसार उनको खुट्टाको हड्डी भाँचिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ।

प्रत्यक्षदर्शीका अनुसार एउटा कारलाई ओभरटेक गर्ने क्रममा टाङ्गा अनियन्त्रित भई ड्युटीमा रहेका प्रहरी हवल्दार यादवलाई ठक्कर दिएको थियो। टाङ्गाको ठक्करबाट घाइते भएका यादवको अस्पतालमा उपचार भइरहेको छ।

घटनामा संलग्न टाङ्गा प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार रहेको कारको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

ड्युटीमा खटिएका सुरक्षाकर्मी नै सडक दुर्घटनामा घाइते भएपछि घटनाबारे थप अनुसन्धान भइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *