बारा, ३ भदौ ।
सशस्त्र प्रहरी बल बाराले तस्करी नियन्त्रण अभियानलाई थप तीव्रता दिँदै करिब रु. ३,२५,००० मूल्य बराबरका विभिन्न अवैध सामान बरामद गरेको छ। बाराका सशस्त्र प्रहरी प्रमुख एसपी खुम बहादुर केसीको निर्देशनमा खटिएको सशस्त्र टोलीले जिल्लाका विभिन्न सीमा नाकासहित मुख्य सडक खण्डमा निगरानी बढाउँदै सो अवैध सामान बरामद गरेको हो।
प्रहरीका अनुसार पहिलो घटनामा, कलैया–१० मटिअर्वा सीमा क्षेत्रबाट मोबाइल सेट, चिनी तथा किराना सामानसहित रु. १,३५,७०० बराबरको सामान मटेर्वास्थित प्रस्तावित सीमा सुरक्षा गुल्मले नियन्त्रणमा लिएको हो।
त्यसैगरी दोस्रो घटनामा, विरगञ्ज–पथलैया सडकखण्ड अन्तर्गत नितनपुरमा रोकिएको यात्रुवाहक बसको डिक्कीबाट रु. १,४५,००० बराबरका लेडिज आइटम बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सो कार्यमा जितपुरस्थित सुरक्षा वेश संलग्न थियो।
तेस्रो घटनामा, निजगढ–८ बकैया पुलमा रौतहटबाट हेटौडा तर्फ जाँदै गरेको यात्रुवाहक बसको डिक्की चेकजाँच गर्दा रेडिमेड कपडा रु. ६०,००० बराबर बरामद भएको हो। उक्त सामान निजगढस्थित विपद् व्यवस्थापन सुरक्षा वेशले नियन्त्रणमा लिएको हो।
बरामद गरिएका सबै सामानहरू आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको एसपी खुम बहादुर केसीले जानकारी दिएका छन्। उनले तस्करी नियन्त्रणलाई थप कडाइका साथ अघि बढाइने उल्लेख गर्दै सीमा सुरक्षामा सशस्त्र प्रहरी बल सदैव प्रतिबद्ध रहने स्पष्ट पारे।
यसरी सशस्त्र प्रहरी बल बाराले पछिल्ला दिनमा तस्करी नियन्त्रण अभियानलाई निरन्तरता दिँदै आएकाले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि रोकथाममा महत्वपूर्ण योगदान पुगेको स्थानीयवासीले पनि जनाएका छन्।
