(सशस्त्र प्रहरीको विशेष सूचनाका आधारमा गरिएको खानतलासीमा ३०५ पोका तयारी माला फेला)
विराटनगर,१७ कार्तिक । सशस्त्र प्रहरी बल, नेपालले अवैध रूपमा भण्डारण गरिएका ठूलो परिमाणका सयपत्री फूलका तयारी माला बरामद गरेको छ।
मिति २०८३ साल मंसिर १६ गते विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हे.क्वा. कंकालिनी, मोरङ र सीमा सुरक्षा गुल्म रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले विराटनगर महानगरपालिका–५, गोग्राहास्थित स्टन कोल्ड स्टोर प्रा.लि.मा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा उक्त कोल्ड स्टोरमा अवैध रूपमा भण्डारण गरी राखिएका अन्दाजी बजार मूल्य रु. २३ लाख २० हजार बराबरका ३०५ पोका सयपत्री फूलका तयारी माला बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
विशेष सूचनाका आधारमा संयुक्त टोली परिचालन गरी गरिएको उक्त कारबाहीले अवैध रूपमा भण्डारण तथा कारोबार हुने गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता थप प्रभावकारी देखिएको छ।
बरामद मालाको सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धान अघि बढाइएको छ।
