सोलुखुम्बुको फेरुचेमा दुई हेलिकप्टर आपसमा ठोक्किए, भारतीय नागरिकको मृत्यु, तीन जना घाइते

समाचार

सोलुखुम्बु ,१७ कार्तिक । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

नेपाल प्रहरीका अनुसार मिति १७ गते बिहान करिब ८:११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा भारतको तमिलनाडु राज्यस्थित चेन्नई घर भएका अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव प्रभु एयरको हेलिकप्टरमार्फत बिसुगार्ड, लुक्ला ल्याइएको छ।

दुर्घटनामा न्युजिल्यान्ड घर भएका अन्दाजी ४९ वर्षीय सेलिशकुमार पटेल, फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति र डाइनेस्टी एयरका पाइलट प्रजल के.सी. घाइते भएका छन्।

घाइतेमध्ये सेलिशकुमार पटेल र फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापतिलाई प्रभु एयरको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल पठाइएको छ।

त्यसैगरी, डाइनेस्टी एयरका पाइलट प्रजल के.सी.को लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

हेलिप्याडमा अवतरणका क्रममा भएको उक्त दुर्घटनाले खुम्बु क्षेत्रमा हवाई सुरक्षाको विषयलाई पुनः चर्चामा ल्याएको छ। दुर्घटनाको विस्तृत कारणबारे भने थप अनुसन्धान तथा प्राविधिक जाँचपछि मात्रै यकिन हुने देखिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *