(एसपी मोहनबहादुर क्षेत्रीको नेतृत्वमा अवैध गतिविधि नियन्त्रण अभियान तीव्र, प्रसौनीभाठा चेकप्वाइन्टबाट हतियार तथा विभिन्न सामान बरामद)
वीरगञ्ज ,१७ कार्तिक । सशस्त्र प्रहरी बल नेपाल, पर्साले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन निगरानी र चेकजाँच अभियानलाई तीव्रता दिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहनबहादुर क्षेत्रीको नेतृत्वमा सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउँदै अवैध हातहतियार, लागूऔषध तथा तस्करी नियन्त्रणका लागि विशेष सक्रियता देखाइएको छ।
यसै अभियानअन्तर्गत सशस्त्र प्रहरीले डोमी पेस्तोल, डोमी गोली, छुरा, नगद रकम, मोबाइल फोन तथा विभिन्न औषधिसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपालका अनुसार मिति २०८३ साल कात्तिक १६ गते सशस्त्र प्रहरी बल, नेपाल बीओपी प्रसौनीभाठाबाट खटिएको टोलीले पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका–५, प्रसौनीभाठास्थित चेकप्वाइन्टमा नियमित चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
चेकजाँचका क्रममा उनीहरूले बोकेको झोलाभित्र कपडामा लुकाइछिपाइ राखिएको अवस्थामा डोमी पेस्तोल एक थान र डोमी गोली ६ राउण्ड फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। त्यसैगरी उनीहरूको साथबाट तीन थान छुरा, नेपाली रुपैयाँ ९ हजार ४ सय, भारतीय रुपैयाँ २२ हजार ४०, भिभो कम्पनीका दुई थान मोबाइल फोन तथा विभिन्न प्रकारका औषधिसमेत बरामद गरिएको छ।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नियमित चेकजाँचका क्रममा शंकास्पद गतिविधिमाथि निगरानी बढाउँदा उक्त डोमी हतियार तथा अन्य सामग्री फेला परेको जनाइएको छ।
बरामद गरिएका डोमी हतियार, गोली, छुरा, नगद, मोबाइल तथा औषधिसहित नियन्त्रणमा लिइएका दुवै व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।
पछिल्लो समय पर्साको सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार, तस्करी, लागूऔषध कारोबार तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले सुरक्षा निगरानीलाई थप कडा बनाएको छ। विशेषगरी सीमावर्ती नाका, भित्री सडक, चेकप्वाइन्ट तथा संवेदनशील क्षेत्रमा परिचालन हुने टोलीलाई सक्रिय बनाउँदै शंकास्पद व्यक्ति तथा सवारीसाधनमाथि निगरानी बढाइएको छ।
एसपी मोहनबहादुर क्षेत्रीले पर्साको सीमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने र कुनै पनि प्रकारका अवैध गतिविधिलाई निरुत्साहित गर्ने उद्देश्यसहित अभियानलाई प्राथमिकतामा राखेको सशस्त्र प्रहरीको पछिल्लो सक्रियताले देखाएको छ।
प्रसौनीभाठा चेकप्वाइन्टबाट डोमी पेस्तोल, गोली तथा छुरासहित दुई जना नियन्त्रणमा पर्नु सीमा क्षेत्रमा भइरहेको सुरक्षा निगरानी र चेकजाँचको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
सशस्त्र प्रहरीको यस सक्रियताले सीमा क्षेत्रमा हुने आपराधिक तथा अवैध गतिविधि नियन्त्रणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सीमा सुरक्षा, अवैध हातहतियार नियन्त्रण र शान्ति सुरक्षालाई प्राथमिकतामा राख्दै सशस्त्र प्रहरी पर्साले आफ्नो अभियानलाई निरन्तरता दिएको छ।
