पर्सामा सशस्त्र प्रहरीको तस्करीविरुद्ध कडा प्रहार, एकै दिन साढे १५ लाखभन्दा बढीका अवैध सामान बरामद

समाचार

वीरगञ्ज, ११ असार ।पर्सामा सशस्त्र प्रहरीले तस्करी नियन्त्रण अभियानलाई थप आक्रामक बनाउँदै एकै दिन करिब १५ लाख ६७ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान तथा सवारी साधन बरामद गरेको छ।

सशस्त्र प्रहरी बल पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीको नेतृत्वमा सञ्चालन भइरहेको तस्करी नियन्त्रण अभियानअन्तर्गत विभिन्न स्थानमा गरिएको निगरानी तथा चेकजाँचका क्रममा उक्त सफलता हासिल भएको हो।

सशस्त्र प्रहरीका अनुसार भारत–नेपाल सीमावर्ती क्षेत्रलाई तस्करहरूले प्रयोग गर्दै अवैध रूपमा सामान ओसारपसार गर्ने गतिविधि बढ्न थालेपछि सीमाक्षेत्रमा गस्ती तथा चेकजाँचलाई थप कडा बनाइएको छ। यही क्रममा वीरगञ्ज महानगरपालिका–१६ को विभिन्न नाकामा सञ्चालन गरिएको विशेष अभियानबाट ठूलो परिमाणमा अवैध सामान नियन्त्रणमा लिइएको हो।

पहिलो घटनामा, बिहिवार दिउँसो करिब १ बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित एन्जी गेट क्षेत्रमा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको कमाण्डमा खटिएको गस्ती टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको स्याउसहित ई–रिक्सा र टाँगा नियन्त्रणमा लिएको थियो।

प्रहरीले म.प्रदेश ०३–००१ ह ३२८४ नम्बरको ई–रिक्सा तथा टाँगामा लोड गरी लैजाँदै गरेको अवस्थामा २०६ किलोग्राम स्याउ बरामद गरेको जनाएको छ। बरामद स्याउको मूल्य ३० हजार ९ सय रुपैयाँ, ई–रिक्साको मूल्य ४ लाख रुपैयाँ तथा टाँगा र घोडाको मूल्य १ लाख ५० हजार रुपैयाँ गरी कुल ५ लाख ८६ हजार ९ सय रुपैयाँ बराबरको मालसामान नियन्त्रणमा लिइएको छ।

उक्त सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरी सोही दिन साँझ करिब ६ः३० बजे वीरगञ्ज–१६ स्थित मेनगेट क्षेत्रमा डिएसपी विकास अधिकारीको कमाण्डमा खटिएको चेकपोष्ट टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको सामानसहित एउटा टेम्पो नियन्त्रणमा लियो।

सवारी साधन चेकजाँचका क्रममा ना २ ह १९९९ नम्बरको टेम्पोमा लोड गरी ल्याइएको चिनी, बिस्कुट, स्याम्पु, चुल्हो, फेभिक्विक र १२ भोल्ट ब्याट्रीलगायतका किराना तथा उपभोग्य सामग्री बरामद गरिएको हो। बरामद सामानको मूल्य ७१ हजार ५ सय ९८ रुपैयाँ र टेम्पोको मूल्य ५ लाख रुपैयाँ गरी कुल ५ लाख ७१ हजार ५ सय ९८ रुपैयाँ बराबरको मालसामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। उक्त सामान भन्सार कार्यालयमा बुझाएको बताइएको छ।

यसैबीच, असार १० गते साँझ वीरगञ्ज–१६ स्थित मितेरी पुल क्षेत्रमा भएको अर्को घटनामा सशस्त्र प्रहरीले तस्करी प्रयोजनका लागि प्रयोग गरिएको ई–रिक्सा र सामान बरामद गरेको छ।

ड्युटीमा खटिएको सशस्त्र प्रहरी टोलीले प्र.२–०३–००१ ह ९५८ नम्बरको ई–रिक्सालाई शंका लागेर जाँच गर्न खोज्दा त्यसमा सवार दुई महिलाले ई–रिक्सामा रहेको स्याउ खोसेर भागेका थिए। त्यसपछि चालकले समेत ई–रिक्सा लिएर नेपाल–भारत सीमावर्ती प्रेमनगर क्षेत्रतर्फ फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।

घटनापछि सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको कमाण्डमा १५ सदस्यीय मोबाइल गस्ती टोली परिचालन गरी खोजतलास गर्दा प्रेमनगर क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त ई–रिक्सा फेला परेको थियो। प्रहरीले ई–रिक्सासहित ३३ किलोग्राम स्याउ तथा ७२ मिटर टेन्टको कपडा बरामद गरेको जनाएको छ। बरामद ई–रिक्साको मूल्य ४ लाख रुपैयाँ, स्याउको मूल्य ४ हजार ९ सय रुपैयाँ तथा कपडाको मूल्य ३ हजार ६ सय रुपैयाँ गरी कुल ४ लाख ८ हजार ७ सय रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको हो।

तीनवटै घटनामा बरामद गरिएको सामान तथा सवारी साधनको कुल मूल्य १५ लाख ६७ हजार १ सय ९८ रुपैयाँ पुगेको सशस्त्र प्रहरीको तथ्यांकले देखाएको छ।

सशस्त्र प्रहरी बल पर्साले सीमावर्ती क्षेत्रमा हुने तस्करी, राजस्व छलि तथा अवैध ओसारपसार नियन्त्रणका लागि अभियानलाई अझ प्रभावकारी बनाइने जनाएको छ। प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीको नेतृत्वमा पछिल्ला दिनहरूमा पर्सा जिल्लामा तस्करी नियन्त्रण अभियानले उल्लेखनीय सफलता हासिल गर्दै आएको छ भने सीमाक्षेत्रमा सक्रिय तस्करी संजालमाथि निरन्तर दबाब बढिरहेको सुरक्षा अधिकारीहरूको भनाइ छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *