प्र्याङ्क भिडियोको नाममा साम्प्रदायिक घृणा फैलाएको आरोपमा ३ जना पक्राउ

समाचार

काठमाडौं, १२ असार। प्र्याङ्क (Prank) भिडियो बनाउने बहानामा सामाजिक सञ्जालमार्फत साम्प्रदायिक घृणा तथा द्वेष फैलाएको आरोपमा नेपाल प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार फेसबुकमा “Jiban Oli” नामक पेजमार्फत मधेशी समुदायको जस्तो देखिने एक व्यक्तिलाई दुर्व्यवहार गरिएको भिडियो सार्वजनिक गरी जात, जाति तथा समुदायबीचको सद्भावमा खलल पुर्‍याउने सामग्री प्रसारण गरिएको थियो।

उक्त घटनामा संलग्न रहेको आरोपमा रुकुम (पश्चिम) मुसिकोट नगरपालिका–३ माछिमीबाट बिहीबार (२०८३ असार १२ गते) अपराह्न करिब ४:४५ बजे तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा रुकुम (पश्चिम) बाँफिकोट गाउँपालिका–३ निवासी २८ वर्षीय डिल्ली बहादुर ओली, सोही स्थानका ३१ वर्षीय राजन के.सी., तथा कपिलवस्तु कृष्णनगर नगरपालिका–४ शिरसवा स्थायी घर भई हाल रुकुम (पश्चिम) मुसिकोट–१ सल्लेमा पाउरोटी उद्योग सञ्चालन गर्दै आएका ३१ वर्षीय रघुबिर कोरी रहेका छन्।

प्रहरीले पक्राउ परेका तीनै जनामाथि सामाजिक सद्भावमा असर पुग्ने गरी साम्प्रदायिक घृणा वा द्वेष फैलाउने कार्य गरेको आरोपमा थप अनुसन्धान भइरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *