वीरगञ्ज, ७ कार्तिक। छठ पर्व नजिकिँदै गर्दा पर्साको वीरगञ्ज महानगरपालिका–३२ चोर्नीस्थित नेपाल पेट्रो ल्युब इन्डस्ट्रिज प्रालिका अधिकारी काशीनाथ तिवारीमाथि स्थानीयवासीहरूले कालो मोबिल (मोसो) प्रहार गरेका छन्।
स्थानीयहरूको आरोप अनुसार कम्पनीले आफ्नो ‘म्याक्सोल ल्युब्रिकेन्ट’ उत्पादन प्रक्रियामा प्रयोग भएका रासायनिक फोहोर पदार्थहरू सिधै सिर्सिया नदीमा मिसाउँदै आएको छ। यसका कारण नदीको पानी अत्यधिक प्रदूषित र दुर्गन्धित बनेको छ भने छठ पर्वका व्रतालु र आसपासका बासिन्दाहरू स्वास्थ्य जोखिममा परेका छन्।
स्थानीय बासिन्दाले लामो समयदेखि कम्पनीविरुद्ध प्रदर्शन गर्दै आए पनि मागको सुनुवाइ नहुँदा आक्रोशित समूहले शुक्रबार करिब ३५ देखि ४० जना मिलेर कम्पनी परिसरमा प्रवेश गरी हो-हल्ला र विवाद गरेको थियो। सो क्रममा कम्पनीका अधिकारी काशीनाथ तिवारीमाथि कालो मोबिल छ्यापिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
घटनापछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
यस घटनापछि स्थानीयवासीहरूले प्रदूषण नियन्त्रणका लागि तत्काल कारबाही र दूषित पानी फाल्ने गतिविधि रोक्न माग गरेका छन्। उनीहरूले भने, “छठ पर्वको बेला यस्तो प्रदूषणले धार्मिक भावना मात्र होइन, सार्वजनिक स्वास्थ्यमा समेत गम्भीर असर पारेको छ।”
वीरगञ्जका वातावरणविद्हरूले पनि उद्योगहरूको फोहोर व्यवस्थापनमा कडाइ गर्न र सिर्सिया नदीको पुनःसुधारका लागि सरकारलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेका छन्।
