एसपी भट्टको नेतृत्वमा तस्करी नियन्त्रण अभियान तीव्र, पर्सा सशस्त्रद्वारा ६ लाख भन्दा बढीका सामान बरामद

समाचार

पर्सा, ७ कार्तिक।

सशस्त्र प्रहरी बल, नेपाल पर्साका प्रमुख एसपी पुरन चन्द्र भट्टको नेतृत्वमा तस्करी नियन्त्रण अभियानलाई थप तीव्रता दिइएको छ। भारत–नेपाल सीमाक्षेत्र हुँदै भइरहेका अवैध सामान ओसारपसार रोक्न सशस्त्र प्रहरी बलले पछिल्ला दिनमा कडाइका साथ निगरानी बढाएको छ। यसै क्रममा सशस्त्र प्रहरीले पर्सा जिल्लाका विभिन्न स्थानबाट करिब रु. ६ लाख २४ हजार ५० बराबरका अवैध सामान र मोटरसाइकलहरू बरामद गरी आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ।

सशस्त्र प्रहरीका अनुसार मिति २०८२ साल कार्तिक ६ गते सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट प्रसौनीभाठ्ठाबाट खटिएको टोलीले पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठ्ठा नजिक भारतबाट भन्सार छली टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेका व्यक्तिबाट रु. २,७६,३४० बराबरको कपडा बरामद गरेको हो। उक्त सामान आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण, हे.क्वा. पर्साबाट खटिएको अर्को टोलीले पर्सा जिल्लाको धोविनी गाउँपालिका–१ जानकीटोला नजिक भारतबाट अबैधरूपमा भन्सार छली मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेका व्यक्तिहरू भाग्न सफल भए पनि रु. ७३,५०० बराबरका किराना तथा कस्मेटिक सामानहरू बरामद गरेको छ। उक्त सामान पनि भन्सार प्रक्रिया पूरा गर्न वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यस्तै, मिति २०८२ साल कार्तिक ७ गते सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट अमरपट्टीबाट खटिएको टोलीले बिन्दवासिनी गाउँपालिका–३ झौवा क्षेत्रमा नेपालबाट भारततर्फ मो.सा.मा लोड गरी लैजाँदै गरेको रु. ४,२१० बराबरको स्याउ र सो कार्यमा प्रयोग भएको रु. २,७०,००० बराबरको मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी विश्वराज योन्जनले जानकारी दिएका छन् ।

एसपी भट्टका अनुसार, सीमाक्षेत्रमा तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले नियमित गस्ती, सूचना संकलन र नियन्त्रण अपरेसनलाई अझ सुदृढ बनाइरहेको छ। उनका अनुसार, चाडपर्व नजिकिँदै गर्दा सीमाक्षेत्र हुँदै हुने अवैध सामान ओसारपसारलाई रोक्न सशस्त्र प्रहरी बल उच्च सतर्कताका साथ परिचालन गरिएको छ।

सशस्त्र प्रहरी बल पर्साले निकट भविष्यमा पनि यस्ता अवैध गतिविधिहरू रोकथामका लागि निरन्तर अभियान सञ्चालन गर्ने बताएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *