पर्सा, कार्तिक ८ ।
छठ पर्वलाई लक्षित गर्दै शनिवार बिहान करिब ६:३० बजेदेखि पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२ छपकैया स्थित छठीघाटमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।
सामुदायिक प्रहरी सेवा साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२, पर्साको आयोजनामा गरिएको उक्त सरसफाइ कार्यक्रममा स्थानीय समुदाय, प्रहरी, सञ्चारकर्मी र समाजसेवीहरूको उल्लेखनीय सहभागिता रह्यो।
कार्यक्रमको अध्यक्षता सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले गर्नुभएको थियो भने वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदी प्रमुख अतिथि तथा वडा नम्बर २ का वडा अध्यक्ष रेयाज आलम विशिष्ट अतिथि रहनुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रहरी निरीक्षक विक्रम सुवेदीले छठ पर्व जस्तो सांस्कृतिक, धार्मिक र सामाजिक महत्वको पर्वमा सरसफाइलाई प्राथमिकता दिनु सबैको कर्तव्य भएको बताउनुभयो। उहाँले सामुदायिक सहकार्य र प्रहरी–जनताको साझेदारीले मात्र स्वच्छ र सुरक्षित वातावरण कायम गर्न सकिने भन्दै निरन्तर यस्ता गतिविधि आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले सरसफाइलाई समाजको नैतिक जिम्मेवारीको रूपमा लिनुपर्ने बताउँदै भन्नुभयो, “छठ एउटा पवित्र पर्व हो, जसले आत्माको शुद्धीकरण गर्छ। छठीघाट सफा राख्नु हाम्रो साझा कर्तव्य हो।”
वडा अध्यक्ष रेयाज आलमले छठ पर्वमा स्वच्छता, सद्भाव र सहअस्तित्वको सन्देश फैलाउने अवसर रहेको बताउँदै सम्पूर्ण वीरगंजवासी तथा देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई छठ पर्वको अवसरमा शुभ स्वास्थ्य, दिर्घायु र सुख–शान्तिको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका पदाधिकारी, स्थानीय बासिन्दा, युवाहरु र सञ्चारकर्मीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सरसफाइ अभियान अन्तर्गत छठीघाट क्षेत्रको फोहर व्यवस्थापन, पोखरी किनारको सरसफाइ र घाँस–फोहरा हटाउने कार्य गरिएको थियो।
छठीघाटलाई सफा, सुन्दर र पवित्र राख्दै श्रद्धालुहरूका लागि सुरक्षित वातावरण तयार गर्ने उद्देश्यले गरिएको यस सरसफाइ अभियानले समुदायमा सरसफाइप्रति जनचेतना अभिवृद्धि गरेको आयोजकले जनाएका छन्।
