डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता प्रकरण : तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ

समाचार

काठमाडौं,१४ कार्तिक  । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) मा १२ करोड रुपैयाँभन्दा बढीको आर्थिक अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संस्थानलाई प्रत्यक्ष आर्थिक हानि नोक्सानी पुर्‍याउँदै गैरकानुनी रूपमा आर्थिक लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि उनीहरूलाई पक्राउ गरेको हो।

सीआईबीका अनुसार तत्कालीन महाप्रबन्धक, प्रशासनिक उच्च तहका अधिकारी, विभिन्न चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूको पूर्वनियोजित योजना र आपसी मिलेमतोमा संगठित सञ्जाल खडा गरी संस्थानलाई आर्थिक नोक्सानी पुर्‍याइएको प्रारम्भिक रूपमा पुष्टि भएको छ।

यसरी संस्थानलाई हानि पुर्‍याएर कुल रु. १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको सीआईबीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा सर्लाही बलरा नगरपालिका–३ स्थायी घर भई हाल डीडीसीको लैनचौरस्थित प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत ४५ वर्षीय सञ्जीव झा रहेका छन्। उनी यसअघि संस्थानको महाप्रबन्धक पदमा कार्यरत थिए।

त्यसैगरी तत्कालीन सिम्ले चिस्यान केन्द्रका इञ्चार्ज तथा हाल बालाजु दुग्ध वितरण आयोजनामा कार्यरत ४६ वर्षीय विजयकुमार यादव, तत्कालीन भक्तपुर चिस्यान केन्द्रका इञ्चार्ज तथा हाल केन्द्रीय कार्यालय लैनचौरमा कार्यरत ५५ वर्षीय मनहरी शर्मा र तत्कालीन चनौली चिस्यान केन्द्रका इञ्चार्ज तथा हाल काठमाडौं दुग्ध वितरण आयोजनाको सङ्कलन केन्द्रमा कार्यरत ४९ वर्षीय रामकेवल राय पक्राउ परेका छन्।

त्यस्तै बागमती धुलो दूध कारखाना हेटौंडामा कार्यरत भरपाई पदका २८ वर्षीय जितेन्द्रकुमार यादव, नवलपुर/गरुडा चिस्यान केन्द्रका इञ्चार्ज तथा डेरी ब्वाई पदमा कार्यरत ३२ वर्षीय नवीन राय यादव, माडी चिस्यान केन्द्रमा कार्यरत दैनिक पारिश्रमिक कर्मचारी ४६ वर्षीय शिवनन्दन राय र माडी चिस्यान केन्द्रका इञ्चार्ज तथा जुनियर टेक्निकल असिस्टेन्ट ४८ वर्षीय विखबहादुर भण्डारी पनि पक्राउ परेका छन्।

सीआईबीले उनीहरूलाई २०८३ साल कात्तिक १३ गते काठमाडौं, कास्की, सर्लाही र चितवनलगायतका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ।

उक्त घटनामा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको आपराधिक विश्वासघात गर्न नहुने कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ।

पक्राउ परेका सबैलाई काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।

सरकारी स्वामित्वको महत्वपूर्ण संस्थानभित्रै उच्च तहका अधिकारीदेखि चिस्यान केन्द्रका कर्मचारीसम्मको मिलेमतोमा करोडौं रुपैयाँको आर्थिक अनियमितता भएको प्रारम्भिक तथ्य सार्वजनिक भएपछि डीडीसीको व्यवस्थापन तथा आर्थिक पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ।

सीआईबीका सहप्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान जारी रहेकाले उनीहरूमाथि लागेको आरोप अदालतबाट प्रमाणित हुन बाँकी छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *