मकवानपुर,१४ कार्तिक । अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित पेट्रोल पम्प नजिकै लेदोसहितको पहिरो खस्दा हेटौँडा–भीमफेदी–दक्षिणकाली सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
मिति २०८३ कात्तिक १४ गते बिहान करिब १०:३० बजेको समयमा माथिबाट लेदोसहितको पहिरो खसेपछि उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको मकवानपुर प्रहरीले जनाएको छ।
पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिस्नेरीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
अवरुद्ध सडक खुलाउने उद्देश्यले जेसीबीको व्यवस्था तथा आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध भएपछि उक्त मार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न र पहिरो प्रभावित क्षेत्रमा जोखिम मोलेर यात्रा नगर्न आग्रह गरिएको छ।
