वीरगञ्ज–२ छपकैयामा कांग्रेस उम्मेदवार अनिल रुङ्टाको घरदैलो: “पर्सा–१ लाई विकासको नयाँ उचाइँमा पुर्‍याउँछु”

समाचार

वीरगञ्ज, फागुन ५। पर्सा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल रुङ्टाले वीरगञ्ज महानगरपालिका वडा नम्बर २ अन्तर्गत घुसुकपुर छपकैयामा घरदैलो कार्यक्रम सम्पन्न गर्दै विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाएको बताएका छन्। स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा छलफल गर्दै उनले जनताको समस्या, अपेक्षा र सुझावलाई गम्भीरतापूर्वक सुनेका छन्।

घरदैलो अभियानका क्रममा उम्मेदवार रुङ्टाले छपकैयाका गल्ली–गल्ली पुगेर स्थानीय बासिन्दासँग आत्मीय संवाद गरेका थिए। उनले जनताको विश्वास र साथले आफूलाई थप जिम्मेवार र उत्साहित बनाएको उल्लेख गर्दै पर्सा क्षेत्र नम्बर १ को समग्र विकासका लागि स्पष्ट योजना र प्रतिबद्धतासहित अघि बढेको बताए।
उनले भने, “छपकैयाका नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दा यहाँका समस्या र सम्भावनालाई नजिकबाट बुझ्ने अवसर प्राप्त भएको छ। यहाँका जनताले देखाएको विश्वास र मायाले मलाई थप ऊर्जा दिएको छ। पर्सा क्षेत्र नम्बर १ लाई विकासको नयाँ उचाइँमा पुर्‍याउन म पूर्ण रूपमा प्रतिबद्ध छु।”

घरदैलोका क्रममा स्थानीयवासीहरूले सडक पूर्वाधार सुधार, खानेपानीको सहज उपलब्धता, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा तथा युवाका लागि रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए। उनीहरूले दीर्घकालीन विकास योजना निर्माण गरी व्यवस्थित शहरीकरण, पूर्वाधार विस्तार र जनताको जीवनस्तर सुधारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

स्थानीय अगुवा ग्यासु मिया अन्सारी, फिरोज आलम लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा जनताको उत्साहजनक सहभागिता देखिएको थियो। स्थानीय नेताहरूका अनुसार घरदैलो कार्यक्रममा देखिएको जनसमर्थनले आगामी निर्वाचनमा उम्मेदवार रुङ्टाको पक्षमा सकारात्मक माहोल सिर्जना भइरहेको संकेत गरेको छ।

यतिबेला उम्मेदवार रुङ्टाले पर्सा क्षेत्र नम्बर १ का विभिन्न वडा तथा बस्तीमा घरदैलो, भेटघाट तथा जनसम्पर्क कार्यक्रमलाई तीव्रता दिएका छन्। उनले मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्दै उनीहरूको सुझावलाई आफ्नो चुनावी घोषणापत्र तथा भावी विकास योजनामा समेट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यसैक्रममा उम्मेदवार रुङ्टाले जनताको विश्वास जित्दै विकास, सुशासन र समृद्धिको एजेन्डासहित आफू चुनावी मैदानमा रहेको बताएका छन्। उनले पर्सा क्षेत्र नम्बर १ लाई आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधारका दृष्टिले नमूना क्षेत्रका रूपमा विकास गर्ने आफ्नो दीर्घकालीन लक्ष्य रहेको स्पष्ट पारे।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *